Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

  • Engineering Nepal
  • April 11, 2022
  • 596

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

ऊर्जा सङ्कट
१. ऊर्जा सङ्कट भनेको के हो ? लेख्नुहोस् ।
 प्राकृतिक स्रोत एवं मानव निर्मित स्रोतबाट प्राप्त हुने शक्ति ऊर्जा हो । यही ऊर्जा सरल सहज एवं सर्वसुलभ रूपमा उपलब्ध हुन नसकेको अवस्थालाई ऊर्जा सङ्कट भनिन्छ । ऊर्जाको कमी हुनु, अभाव हुनु वा मागबमोजिम प्राप्त नहुनु ऊर्जा सङ्कट हो । ऊर्जा देश विकासको आधार हो । नेपालमा अहिले पनि ऊर्जा सङ्कट विद्यमान छ । नेपालको औद्योगिक क्षेत्रमा औद्योगिक विकासमैत्री ऊर्जा सर्वसुलभ हुन नसकेकाले नेपालको आर्थिक विकासमा ऊर्जा सङ्कट एउटा बाधकका रूपमा रहेको छ । ऊर्जा सङ्कटले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, भौतिक पूर्वाधार निर्माणलगायत जनजीवनका प्रत्येक चरणमा प्रभाव पार्दछ । यसले सुत्केरी आमा, शिशु बच्चा, बालक, विद्यार्थी हुँदै वृद्धसम्म सबैलाई प्रभाव पार्दछ । यसले मुलुकको समग्र आर्थिक विकासमा बहुआयामिक रूपमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको पाइन्छ । त्यसैले नेपालमा ऊर्जा सङ्कट टार्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।

२. नेपालमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका घोषणा हुनका लागि पूरा गर्नुपर्ने सर्त तथा सुविधाहरू के के हुन् ? लेख्नुहोस् ।
 नेपालमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका घोषणा हुनका लागि पूरा गर्नुपर्ने सर्त तथा सुविधाहरू निम्नअनुसार छन् ः
क. नगरपालिका
– स्थायी बासिन्दा:
– हिमाली जिल्ला: कम्तीमा दस हजार,
– पहाडी जिल्ला: कम्तीमा चालीस हजार,
– भित्री मधेसका जिल्ला:कम्तीमा पचास हजार,
– तराईका जिल्ला:कम्तीमा पचहत्तर हजार,
– काठमाडौँ उपत्यका: कम्तीमा एक लाख भएको,
आन्तरिक आय:
– पछिल्लो पाँच वर्षको औषत वार्षिक आन्तरिक आय हिमाली क्षेत्रको भए कम्तीमा एक करोड र अन्य जिल्लामा कम्तीमा तीन करोड
रुपियाँ भएको,
सहरी सुविधा:
– सडक, विद्युत्, खानेपानी, सञ्चारलगायत यस्तै न्यूनतम सहरी
सुविधा भएको,
ख. उपमहानगरपालिका
स्थायी बासिन्दा :
– कम्तीमा दुई लाख भएको,
आन्तरिक आय :
– पछिल्लो पाँच वर्षको औषत वार्षिक आन्तरिक आय कम्तीमा पच्चीस करोड रुपियाँ भएको,
सहरी सुविधा :
– नगरपालिकालाई तोकिएको पूर्वाधार भएको, तोकिएबमोजिमका अन्य सहरी सुविधा भएको,
ग. महानगरपालिका
स्थायी बासिन्दा :
– कम्तीमा पाँच लाख भएको,
आन्तरिक आय :
– पछिल्लो पाँच वर्षको औषत वार्षिक आन्तरिक आय कम्तीमा एक अर्ब रुपियाँ भएको,
सहरी सुविधा :
– पर्याप्त सहरी सुविधा भएको,

३. सार्वजनिक बडापत्रका सिद्धान्तहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
 सार्वजनिक वस्तु तथा सेवा प्रदायक निकायले नागरिकप्रति गर्ने खुला प्रतिबद्धता सार्वजनिक बडापत्र हो । सर्वसाधारण नागरिकप्रति जारी गरिने यसले सार्वजनिक निकाय र नागरिकबीच असल सम्बन्ध विकास गरी सुशासन कायम गर्न सहयोग गर्दछ । यसका सिद्धान्तहरू
निम्नअनुसार छन् :
क. गुणस्तर :
– वस्तु तथा सेवाको गुणस्तर बढाउन सहयोग गर्दछ ।
ख. छनोट :
– सम्भव भएसम्म सेवाग्राहीले वस्तु तथा सेवाको छनोट गरी लिन सक्ने, सार्वजनिक सेवा प्रवाहमा यो सम्भव नभए पनि निजी क्षेत्रको वस्तु तथा सेवा प्रवाहमा यो लागू हुन सक्दछ । जस्तैः उपलब्ध भएका निजी अस्पताल, निजी विद्यालय छनोट गरी सेवाग्राहीले इच्छाअनुसार सेवा लिन सक्छन् ।
ग. मापदण्ड :
– वस्तु तथा सेवा प्रवाहको मापदण्ड तयार गरी सो अनुरूप प्रवाह गरिने,
घ. मूल्य :
– सार्वजनिक साधन स्रोतको सही सदुपयोग गरी सेवा प्रवाह, करको
सही सदुपयोग,
ङ. उत्तरदायित्व :
– सेवा प्रदायकहरूको व्यक्तिगत र साङ्गठनिक रूपमा उत्तरदायित्व
वृद्धि हुने,
च. पारदर्शिता :
– कानुन, नियम, विधि, प्रक्रियालगायतका पक्ष प्रष्ट हुने, नागरिकमा सत्य सूचना प्रवाह हुने, खुलापन बढ्ने,

४. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ ले विकास सहायता परिचालनका लागि तोकेका प्राथमिकताका क्षेत्रहरू के के हुन् ? लेख्नुहोस् ।
 अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ ले विकास सहायता परिचालनका लागि आठ वटा प्राथमिकताका क्षेत्रहरू तोकेको छ, जुन निम्न छन् ः
– क. भौतिक पूर्वाधार निर्माण,
– ख. शिक्षा, स्वास्थ्य, खानेपानी, सरसरफाइ,
– ग. राष्ट्रिय उत्पादन तथा उत्पादकत्व वृद्धि,
– घ. रोजगारी सिर्जना र गरिबी निवारण,
– ङ. विज्ञान तथा प्रविधिको विकास र हस्तान्तरण,
– च. वातावरण संरक्षण र जलवायु परिवर्तन,
– छ. विपत् व्यवस्थापन,
– ज. सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको क्षमता नपुगेको क्षेत्रमध्ये सरकारले निर्धारण गरेको उपयुक्त क्षेत्र,

५. नेपालको प्रत्यक्ष कर प्रणालीमा देखिएका चुनौतीहरू र गर्नुपर्ने सुधारहरू के के हुन् ? चर्चा गर्नुहोस् ।
 जसलाई कर लगाइएको छ, उसैले तिर्नुपर्ने कर प्रत्यक्ष कर हो । यस करमा करको भार र असर एउटै व्यक्तिमा पर्दछ, अरू व्यक्तिमा सार्न पाइँदैन । आयकर र सम्पत्ति कर प्रत्यक्ष कर हुन् । नेपालमा प्रत्यक्ष कर प्रणालीलार्ई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था छ र पनि प्रत्यक्ष कर प्रणाली व्यवस्थित हुन सकेको पाइँदैन । कुल कर राजस्वमा प्रत्यक्ष करको हिस्सा कम रहनु तथा सम्पत्ति कर निष्प्रभावी हुनु यस क्षेत्रका प्रमुख चुनौती हुन् । समग्रमा निम्न कार्यलाई प्रत्यक्ष कर प्रणालीमा देखिएका चुनौतीहरूको रूपमा उल्लेख गर्न सकिन्छ :
– आयकरको दायरा बढाउँदै जानु,
– आयकर प्रणालीलाई सरल र पारदर्शी बनाउनु,
– कर संरचनामा प्रत्यक्ष करको अंश बढाउँदै जानु,
– कर चुहावट रोक्ने कार्यलाई थप प्रभावकारी बनाउनु,
– करदातामा सहज रूपमा कर तिर्ने प्रवृत्तिको विकास गराउनु,
– कर प्रशासनलाई जिम्मेवार, जवाफदेही, आधुनिक एवं
समन्वयात्मक बनाउनु,
– आम नागरिकको सम्पत्ति अभिलेख कार्यलाई वैज्ञानिक बनाउँदै राज्यलाई नागरिकको सम्पत्तिको यथार्थ सूचना उपलब्ध गराउनु,
– सम्पत्ति करको माध्यमबाट आयकर कार्यान्वयनमा थप प्रभावकारिता हासिल गर्नु,
– यसरी नेपालको प्रत्यक्ष कर प्रणालीमा यी र यस्तै प्रकृतिका कार्यहरू सम्पन्न गर्न बढी चुनौती देखिएको पाइन्छ ।
प्रत्यक्ष कर प्रणालीमा गर्नुपर्ने सुधार
– आय आर्जनका सबै क्षेत्रमा आयकर लगाएर आयकरको दायरा फराकिलो बनाउने,
– आयकर ऐन, २०५८ र आयकर नियमावली, २०५९ लाई थप सरल बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने,
– आयकर छुट व्यवस्थालाई पारदर्शी बनाई लागू गर्नुपर्ने,
– आयकरको दरलाई कम गरी थोरै दरबाट धेरैलाई करको दायरामा ल्याई बढी राजस्व असुली गर्ने,
– कर चुहावट रोक्ने कार्यलाई समन्वयात्मक रूपमा अगाडि बढाउने,
– कर साक्षर, कर चेतना वृद्धि एवं कर सदुपयोगको प्रत्याभूति गरेर करदातामा सहज रूपमा कर तिर्ने बानीको विकास गर्ने,
– कर प्रशासनलाई विद्युतीय कर सुशासनमा रूपान्तरण गर्ने, उत्प्रेरित एवं उच्च मनोबलयुक्त कर प्रशासनको निर्माण गर्ने,
– सम्पत्तिको सिलिङ तोकेर सोहीअनुसार सम्पत्ति कर लगाउनु पर्ने,
– आम नागरिकको सम्पत्तिको वैज्ञानिक अभिलेख गर्न संयन्त्र निर्माण गर्नुपर्ने,
– आयकर आर्थिक असमानता कम गराउने प्रगतिशील कर हो भने सम्पत्ति कर सम्पत्तिलाई निष्क्रिय नबनाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी पारदर्शी अर्थतन्त्रको विकास गर्न सहयोग गर्ने कर हो । सम्पत्ति करले अन्ततोगत्वा आयकरको दायरालाई समेत विस्तार गर्दछ । यसका लागि आयकरको सङ्कलन एवं प्रशासन गर्ने जिम्मेवारी लिएको आन्तरिक राजस्व विभाग र अन्तर्गतका आन्तरिक राजस्व कार्यालयको सुदृढीकरण गरी कर प्रणालीलाई सरल र पारदर्शी बनाउनु पर्दछ । सम्पत्ति करका लागि पालिकाहरूले आवश्यक कानुन, मापदण्ड एवं कार्यविधि तयार यस करलाई थप प्रभावकारी बनाउनु पर्दछ ।

६. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?
 राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, प्रदेश प्रमुख, प्रदेशको मुख्य मन्त्री, प्रदेशको मन्त्री, प्रदेशको राज्यमन्त्री, प्रदेशको सहायक मन्त्री,
– नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ देहायका व्यक्ति समक्ष लिने व्यवस्था छ ः
– क. राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष,
– ख. उपराष्ट्रपतिले राष्ट्रपति समक्ष,
– ग. प्रधानमन्त्रीले राष्ट्रपति समक्ष,
– घ. उपप्रधानमन्त्रीले राष्ट्रपति समक्ष,
– ङ. मन्त्रीले राष्ट्रपति समक्ष,
– च. राज्यमन्त्रीले प्रधानमन्त्री समक्ष,
– छ. सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष,
– ज. प्रदेश प्रमुखले राष्ट्रपति समक्ष,
– झ. प्रदेशको मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष,
– ञ. प्रदेशको मन्त्रीले प्रदेश प्रमुख समक्ष,
– ट. प्रदेशको राज्यमन्त्रीले प्रदेशको मुख्यमन्त्री समक्ष,
– ठ. प्रदेशको सहायक मन्त्रीले प्रदेशको मुख्यमन्त्री समक्ष,

७. स्थानीय व्यवस्थापिकाले गर्ने कार्यहरू के के हुन् ? लेख्नुहोस् ।
 नेपालको संविधानबमोजिम स्थानीय तहलाई तोकिएका कार्यहरूको विषयमा कानुन बनाउने स्थानीय व्यवस्थापिकाको प्रमुख कार्य हो । यसका कार्यहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– स्थानीय करका दरहरू तोक्ने,
– स्थानीय कानुन निर्माण गर्ने,
– स्थानीय बजेट पारित गर्ने,
– स्थानीय नीति तथा कार्यक्रमहरूको समीक्षा गर्ने,
– स्थानीय आय र व्ययमाथि छलफल गर्ने, स्वीकृत गर्ने,
– स्थानीय कार्यपालिका र सोअन्तर्गतका निकायलाई नियन्त्रण गर्ने, निर्देशन दिने ।

८. मूल्य अभिवृद्धि करमा कर अधिकृतले कर निर्धारण गर्न सक्ने अवस्थाहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
 मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम मूल्य अभिवृद्धि करमा कर अधिकृतले कर निर्धारण गर्न सक्ने अवस्थाहरू निम्न छन् ः
– म्यादभित्र कर विवरण पेस नगरेमा,
– अधुरो वा त्रुटिपूर्ण कर विवरण पेस गरेमा,
– झुठ्ठा कर विवरण पेस गरेमा,
– करको रकम कम देखाएको वा ठीक नभएको भन्ने कर अधिकृतलाई विश्वास गर्नुपर्ने कारण भएमा,
– आपूर्ति मूल्यमा न्यून विजकीकरण गरेको भन्ने कर अधिकृतलाई विश्वास गर्नुपर्ने कारण भएमा,
– न्यून विजकीकरण गरी समूह कम्पनीमा आपूर्ति भएमा,
– दर्ता हुनुपर्ने दायित्व भएको व्यक्तिले दर्ता नगरी कारोबार गरेमा,
– बिजक जारी नगरी बिक्री गरेमा,
– दर्ता नभएको व्यक्तिले कर उठाएमा,

९. सहकारीका सिद्धान्तहरू के के हुन् ?
 स्वेच्छिक रूपमा आपसी सहकार्य गरेर गर्ने कार्य सहकारी हो । जसमा सदस्यहरू बीच स्वतन्त्रता, स्वयत्तता, खुलापन तथा सक्रिय र सार्थक सहभागिता हुन्छ । यो नै सहकारीको आधारभूत सिद्धान्त हो, जुन बिना सहकारीको सहकार्य गरेर गर्ने जुनसुकै काम सफल हुन सक्दैन । सहकारीका अरू थप सिद्धान्तहरू निम्न छन् :
– स्वेच्छिक खुला सदस्यता,
– सदस्यहरूद्वारा लोकतान्त्रिक प्रक्रियाको अवलम्बन,
– सदस्यहरूको आर्थिक सहभागिता,
– शिक्षा, तालिम र सूचना,
– सहकारी सहकारीबीच पारस्परिक सहयोग,
– समुदायप्रतिको चासो,

Source- Gorkhapatra Online

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 96
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA