Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

नेतृत्व शैलीका प्रकार : विषयगत प्रश्नोत्तर (२८ माघ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • February 12, 2026
  • 407

नेतृत्व शैलीका प्रकार : विषयगत प्रश्नोत्तर (२८ माघ २०८२, बुधबार)

Types of Leadership Styles: Topical Q&A (Wednesday, 28 Magh 2082)

१.  नेतृत्व शैली भनेको के हो ? नेतृत्व शैलीका प्रकारबारे चर्चा गर्नुहोस् ।

 नेताले आफ्ना अनुयायीलाई प्रभावित गर्न प्रदर्शन गर्ने व्यवहार वा कार्यशैलीलाई नेतृत्व शैली भनिन्छ । यसमार्फत नेताले अनुयायीलाई प्रेरित गर्ने, निर्देशित गर्ने, आकर्षित गर्ने, निर्णयमा सहभागी गराउने, लक्ष्यतर्फ उन्मुख गराउनेलगायतका कार्य गर्छन् । नेताले कुनै एक निश्चित शैलीको मात्र प्रयोग गर्ने भन्ने नभई परिस्थिति अनुसार विभिन्न नेतृत्व शैलीहरू प्रयोग गर्न सक्छन् । अनुयायी अनुसार नेतृत्व शैली फरक पर्न सक्छ । नेता स्वयम्को व्यक्तिगत गुणका आधारमा पनि नेतृत्व शैली चयन हुन सक्छ । नेता, अनुयायी र परिस्थितिका आधारमा नेतृत्व र नेतृत्व शैली निर्धारण हुने गर्छ ।

नेतृत्व शैलीका प्रकार :

क)  लोकतान्त्रिक शैली : आफ्ना अनुयायी वा आफू मातहतमा कार्यरत व्यक्तिलाई सहभागी गराई वा सुझाव लिई निर्णय गर्ने तथा कामकारबाही अगाडि बढाउने शैलीलाई नेतृत्वको लोकतान्त्रिक शैलीको रूपमा बुझ्न सकिन्छ । नेताले आदेश र निर्देशनमा विश्वास नगरी अनुयायीसँगको संवाद, परामर्श र सम्मतिमा निर्णय गर्छन् । आफ्ना निर्णय कार्यान्वयनमा अनुयायीको साथ र सहयोगको अपेक्षा गर्छन् । यस प्रकारको शैलीले आपसी विश्वास र आत्मसम्मानलाई मजबुद बनाई सहकार्य र समूहकार्यमार्फत लक्ष्य प्राप्ति गर्ने कुरामा जोड दिन्छ ।

ख)  निरङ्कुश शैलीः अनुयायीसँगको संवाद, परामर्श र सुझावलाई महत्व नदिई नेता स्वयम्ले निर्णय लिने र कार्यान्वयनमा आदेश र निर्देशनको शैली अवलम्बन गर्ने नेतृत्व शैलीलाई निरङ्कुश शैली भनिन्छ । यस शैली अलम्बन गर्दा नेताले अनुयायीसँग दोहोरो सञ्चार गर्न रुचि देखाउँदैनन् । यस शैलीले अनुयायीहरूको सिर्जनात्मकता र सव्रिmयतालाई कमजोर बनाउन सक्छ । अधिकार केन्द्रीकृत गर्ने शैलीका कारण अनुयायीसँगको सम्बन्ध सुमधुर नहुन सक्छ । 

ग)  स्वतन्त्र शैली : निर्णय लिने तथा कार्यान्वयन गर्ने सम्पूर्ण अधिकार अनुयायीलाई हस्तान्तरण गरी आफू केवल मार्गदर्शक र अभिभावकको भूमिकामा सीमित रहने शैलीलाई स्वतन्त्र नेतृत्व शैली भनिन्छ । यस शैलीमा अनुयायी माथि नेताको नियन्त्रण र हस्तक्षेप न्यून रहन्छ । अनुयायीलाई कार्यगत स्वतन्त्रता प्रदान गरिएको हुन्छ । अनुयायीप्रति नेताको विश्वासको स्तर उच्च रहन्छ । आवश्यक परेको अवस्थामा मात्र नेतृत्वबाट हस्तक्षेप हुन सक्छ । अनुयायी कम अनुभवी र निर्देशन खोज्ने भएमा यस्तो शैली प्रभावकारी नहुन सक्छ । 

घ)  कारोबारी शैली : अनुयायीको स्पष्ट कार्यविभाजन र लक्ष्य निर्धारण गरी कार्यसम्पादनको आधारमा दण्डित र पुरस्कृत गर्ने शैलीलाई नेतृत्वको कारोबारी शैली भनिन्छ । अनुयायीको कार्यसम्पादनको निरन्तर निगरानी र मूल्याङ्कन गरी नेताले नतिजामा आधारित भई सम्बन्ध स्थापित गर्छन् । निर्धारित प्रव्रिmया, मापदण्ड र विधिको परिधिभित्र रही तोकिएका लक्ष्य प्राप्तिका लागि अनुयायीलाई निर्देशित गरिन्छ । अनुयायीलाई आस र त्रासका आधारमा प्रभावित गरिन्छ । यस शैलीले यथास्थितिमा नतिजा प्राप्तिमा जोड दिन्छ । दूरगामी र परिवर्तनगामी सोच तथा कार्यशैलीलाई खासै महìव दिँदैन ।

ङ)  रूपान्तरणकारी शैली : रूपान्तरणको स्पष्ट दृष्टिकोण, आदर्श र प्रेरणाको माध्यमबाट नेताले अनुयायीलाई प्रभावित पार्ने शैलीलाई रूपान्तरणकारी नेतृत्व शैली भनिन्छ । यस शैलीको अवलम्बन गर्ने नेताले प्रत्येक अनुयायीसँग भावनात्मक सम्बन्ध स्थापित गर्न जोड दिन्छन् । नेताले अनुयायीको क्षमता विकास, सशक्तीकरण, मार्गदर्शन, प्रेरणा र भावनात्मक सम्बन्ध स्थापित गरी लक्ष्यप्राप्तिको लागि तयार गर्छन् । नेताले आफू यथास्थितिमा रमाउने नभई परिवर्तनको संवाहक भएको प्रभाव अनुयायीमा पार्छन् । रूपान्तरणका लागि विद्यमान संस्कृति र कार्यशैलीलाई परिवर्तन गरी अनुयायीमा नयाँ सोच, संस्कृति र शैली स्थापित गर्छन् । 

– अन्त्यमा कुनै पनि संस्था, सङ्गठन वा समाजमा विद्यमान समस्या समाधान गरी सकारात्मक नतिजा ल्याउनका लागि नेताले सोच र लक्ष्य प्रस्तुत गर्ने र सो प्राप्तिका लागि आफ्ना अनुयायीलाई अग्रसर गराउने काम गर्छन् । अनुयायीलाई लक्ष्यउन्मुख गराई नतिजा प्राप्त गर्न नेताले विभिन्न कार्यशैली अपनाउने गर्छन् । नेताले लोकतान्त्रिक, नैतिक, उत्तरदायी, नतिजा र मानवसम्बन्ध केन्द्रित तथा रूपान्तरणकारी शैलीलाई सन्तुलित ढङ्गले अवलम्बन गर्न सकेमा अनुयायी तथा मातहतका कर्मचारीबाट समाज वा सङ्गठनले चाहे जस्तो नतिजा हासिल हुन सक्छ । 

 

२.  बोलपत्र भनेको के हो ? अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्नुपर्ने अवस्था उल्लेख गर्नुहोस् ।

 सार्वजनिक निकायले खरिदका लागि प्रकाशन गरेको सूचनाबमोजिम खरिद कार्यमा सहभागी हुन चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सो निकायले तोकेको ढाँचामा पेस गरेको मूल्य खुल्ने कागजात, प्रस्ताव वा दररेटलाई बोलपत्र भनिन्छ । सार्वजनिक निकायले मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिदका लागि सार्वजनिक रूपमा बोलपत्र आह्वानको सूचना प्रकाशन गर्छन् । यसरी आह्वान गर्ने बोलपत्र राष्ट्रियस्तरको खुला बोलपत्र र अन्तर्राष्ट्रियस्तरको खुला बोलपत्र गरी दुई प्रकारका हुन्छन् । राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको समाचारपत्रमा प्रकाशन गर्नु पर्छ र अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रियस्तरको सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिने कानुनी प्रावधान छ ।

अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्नुपर्ने अवस्था :

सार्वजनिक खरिद ऐनबमोजिम बोलपत्र आह्वान गर्दा देहायको अवस्थामा अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्नु पर्छ :

– सार्वजनिक निकायको माग अनुरूपको मालसामान वा निर्माण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल राज्यभित्रका एकभन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने भएमा,

– मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिदका लागि राष्ट्रियस्तरमा बोलपत्र आह्वान गर्दा कुनै बोलपत्र नपरी विदेशबाट प्राप्त गर्नुपर्ने भएमा,

– दातृपक्षसँग भएको सम्झौताबमोजिम वैदेशिक सहायता स्रोतबाट विदेशी मालसामान वा निर्माण कार्य खरिद गर्नुपर्ने भएमा,

– विशेष तथा जटिल किसिमको मालसामान वा निर्माण कार्य भएकाले अन्तर्राष्ट्रियस्तरको बोलपत्रबाट खरिद गर्नुपर्ने भनी सार्वजनिक निकायले प्रमाणित गरेकोमा ।

– अन्त्यमा सार्वजनिक खरिद ऐनले राष्ट्रियस्तरका बोलपत्रदातालाई प्राथमिकता दिनुका साथै अन्तर्राष्ट्रियस्तरका बोलपत्रदाताबाट प्रस्ताव माग गरी खरिद गर्न सकिने व्यवस्था गरेको छ । खरिद ऐनले उल्लेख गरेको अवस्था प्रतिकूल नहुने गरी सार्वजनिक निकायले अन्तर्राष्ट्रियस्तरको खुला बोलपत्र आह्वान गरी खरिद कार्य गर्नु पर्छ । यस्तो बोलपत्र आह्वानको सूचना आवश्यकता अनुसार अन्तर्राष्ट्रियस्तरको सञ्चार माध्यममा समेत प्रकाशन गर्नु पर्छ ।

 

३.  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गैरनाफामूलक संस्था दर्ता गर्ने वा नियमनकारी निकायले ती संस्थामार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा के कस्ता कार्य गर्नु पर्छ ? उल्लेख गर्नुहोस् । 

 सम्पत्ति शुद्धीकरण मुलुकका लागि अति नै घातक वित्तीय अपराध हो । यसमा विभिन्न माध्यमबाट अवैध रूपमा आर्जन गरेको सम्पत्तिलाई वैध बनाउने प्रयास गरिएको हुन्छ । पछिल्लो समय गैरनाफामूलक संस्थाको माध्यमबाट सम्पत्ति शुद्धीकरणका गतिविधि बढेको महसुस गरी सोको निवारणका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनमा परिमार्जन गरिएको छ, जस अनुसार गैरनाफामूलक संस्थाको दर्ता गर्ने, आबद्धता दिने वा त्यस्तो संस्थाको नियमन गर्ने निकायले सम्पत्ति शुद्धीकरण निवारणका लागि देहायका कार्य गर्नु पर्छ ः

– सम्पत्ति शुद्धीकरण कार्यमा गैरनाफामूलक संस्थाको सम्पत्ति प्रयोग हुन नसक्ने गरी आवश्यक व्यवस्था गर्ने,

– सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद सूचना वित्तीय जानकारी एकाइलाई दिने,

– गैरनाफामूलक संस्थाको कामकारबाही पारदर्शी र विश्वसनीय बनाउन त्यस्ता संस्थाबाट लाभ प्राप्त गर्ने व्यक्ति वा समूहको पहिचान गर्न आवश्यक मापदण्ड बनाई लागु गर्ने वा गराउने,

– क्षेत्रगत तथा संस्थागत जोखिम मूल्याङ्कन तथा व्यवस्थापन गर्ने वा गराउने,

– सम्पत्ति शुद्धीकरणसम्बन्धी कामकारबाहीको जोखिमको आधारमा सम्बन्धित संस्थाले खर्च बेहोर्ने गरी ऐनबमोजिम प्रभावकारितासम्बन्धी सम्परीक्षण गर्ने वा गराउने,

– जोखिमका आधारमा निरीक्षण, सुपरीवेक्षण वा अनुगमन गर्ने ।

 

४.  सार्वजनिक क्षेत्रको लेखा परीक्षण गर्नुका उद्देश्य स्पष्ट पार्नुहोस् । 

 सरकारले प्रदान गर्ने सेवा, विकास निर्माण तथा सरकार सञ्चालनका विभिन्न क्रियाकलापमा सार्वजनिक स्रोत उपयोग हुने गर्छ । सरकारले खर्च गर्ने स्रोत राजस्व, अनुदान र ऋणको माध्यमबाट सङ्कलन हुने गर्छ । सरकारले सीमित स्रोतबाट नागरिकका असीमित आवश्यकता र समस्या सम्बोधन गर्नुपर्ने हुँदा सरकारका लागि सधैँजसो स्रोतको अभाव भइरहन्छ । सरकारी स्रोत तथा सरकारी कोषको महत्तम उपयोग सुनिश्चित गर्न सरकारी कारोबारको नियमित लेखापरीक्षण गरिन्छ । लेखापरीक्षणले सार्वजनिक क्षेत्रको सञ्चालनमा जवाफदेहिता अभिवृद्धिमा सहयोग गर्छ । यसका उद्देश्य यस प्रकार छन् ः

– सरकारी कोषको सदुपयोग गर्न,

– सरकारी आम्दानी र खर्चमा हुने अनियमितता र अपचलन नियन्त्रण गर्न,

– सरकारी आम्दानी र खर्च गर्दा प्रचलित कानुनको परिपालनास्तर बढाउँदै लैजान,

– सरकारी निकायका वित्तीय प्रतिवेदनलाई विश्वसनीय बनाउन, सरकारी कारोबारमा हुन सक्ने त्रुटि र लापर्बाही पहिचान गरी सुधार गर्न,

– आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउन,

– सरकारी आम्दानी र खर्च प्रक्रियालाई मितव्ययी, लागतप्रभावी, प्रभावकारी र औचित्यपूर्ण बनाउन,

– सार्वजनिक वित्त व्यवस्थापनको सवालमा सरकारी निकायलाई संसद् र नागरिकप्रति उत्तरदायी बनाउन,

– नीति निर्माताका लागि महत्वपूर्ण सूचना प्रदान गर्न,

– सार्वजनिक क्षेत्रको निरन्तर सुधारका लागि पृष्ठपोषण प्रदान गर्न,

– सार्वजनिक क्षेत्रमा सुशासन स्थापित गरी आमनागरिकको विश्वास आर्जन गर्न ।

– अन्त्यमा सार्वजनिक क्षेत्रको कार्यसञ्चालनको मुख्य आधार नै सार्वजनिक स्रोत हो । सार्वजनिक स्रोतको सङ्कलन गर्ने र खर्च गर्ने प्रक्रियालाई नियमित, मितव्ययी, कुशल, औचित्यपूर्ण बनाई पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न लेखापरीक्षण आवश्यक पर्छ । लेखापरीक्षकले सार्वजनिक निकायका वित्तीय सूचनाहरू सङ्कलन, विश्लेषण र मूल्याङ्कन गरी सुझावसहितको प्रतिवेदन प्रदान गर्छन् । ती सुझाव कार्यान्वयन गरी सुधार गर्नका लागि सार्वजनिक निकाय जिम्मेवार बन्नु पर्छ ।

 

५.  सार्वजनिक निकायले मालसामान खरिदको तयारी गर्दा के कस्ता कार्य गर्नु पर्छ ? मालसामान खरिदका लागि अवलम्बन गर्न सकिने खरिद विधि उल्लेख गर्नुहोस् ।

 सार्वजनिक निकायले सार्वजनिक स्रोतको प्रयोग गरी सार्वजनिक हित अभिवृद्धिका लागि गरिने मालसामान, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवाको खरिदलाई समग्रमा सार्वजनिक खरिद भनिन्छ । सार्वजनिक निकायले सेवा प्रवाह, विकास निर्माण तथा कार्यसञ्चालनको लागि विभिन्न प्रकारका मालसामान खरिद गर्छन् । यस्ता मालसामान खरिदका लागि नीतिगत, कानुनी तथा प्रणालीगत व्यवस्था गरिएको हुन्छ । नेपालले सार्वजनिक खरिद कानुन र विद्युतीय खरिद प्रणालीको माध्यमबाट सार्वजनिक खरिदलाई व्यवस्थित गर्दै आएको छ ।

मालसामान खरिदको तयारी गर्दा गर्नुपर्ने कार्य :

– खरिद महाशाखा, शाखा वा एकाइलाई चुस्त दुरुस्त बनाउने,

– मालसामानको मौज्दात र माग विवरण सङ्कलन गरी खरिदको आवश्यकता पहिचान गर्ने,

– खरिदसम्बन्धी विभिन्न प्राविधिक कुरा समाधान गर्न र आपूर्तिकर्ताको उपलब्धता यकिन गर्न बजारमा प्रचलित खरिद सम्झौताको जानकारी लिने,

– अघिल्ला वर्षमा समान प्रकृतिका मालसामान खरिद गरिएका भए खरिद प्रक्रियाको अध्ययन गर्ने,

– खरिदको विवरण, परिमाण र क्षेत्र यकिन गर्ने,

– खरिदलाई बढी सुविधाजनक समूहमा विभाजन गर्ने वा प्याकेजमा समावेश गर्ने,

– खरिद योजना तयार गर्ने गराउने,

– खरिदको लागत अनुमान तयार गर्ने,

– विदेशी मालसामान भन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने विषयलाई ध्यान दिने,

– मालसामान खरिदका लागि आर्थिक स्रोत र रकमको पहिचान गर्ने,

– उपयुक्त खरिद विधिको छनोट गर्ने,

– अधिकारप्राप्त अधिकारीबाट स्वीकृति र आदेशबमोजिम मात्र खरिद गर्ने,

– खरिद कागजातको तयारी गर्ने ।

मालसामान खरिद विधि :

क) अन्तर्राष्ट्रियस्तरको खुला बोलपत्र : मुलुकभित्र आपूर्तिकर्ताको सीमितता, मुलुकभित्रका आपूर्तिकर्ताबाट मालसामान आपूर्ति हुन नसक्ने अवस्था, दातृपक्षसँगको सम्झौताबमोजिम मालसामान बाहिरबाट लिनुपर्ने अवस्था तथा विशेष वा जटिल प्रकृतिको मालसामान खरिद गर्नुपर्ने अवस्थाका आधारमा अन्तर्राष्ट्रियस्तरको कम्तीमा पैँतालिस दिन अविधिको बोलपत्र सूचना आह्वान गरी योग्य आपूर्तिकर्ता छनोट गरी मालसामान खरिद गर्न सकिन्छ ।

ख)  राष्ट्रियस्तरको खुला बोलपत्र : अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्नुपर्ने अवस्थामा बाहेक २० लाख रुपियाँभन्दा बढी लागत अनुमान भएको मालसामान खरिद गर्दा कम्तीमा तीस दिन अवधिको राष्ट्रियस्तरको बोलपत्र सूचना आह्वान गरी योग्य आपूर्तिकर्ता छनोट गरी मालसामान खरिद गर्न सकिन्छ ।

ग)  सिलबन्दी दरभाउपत्र : २० लाख रुपियाँसम्म लागत अनुमान भएको मालसामान तथा ५० लाख रुपियाँसम्मको औषधीजन्य मालसामान एवं चिकित्सकीय उपकरण कम्तीमा १५ दिन अवधिको सिलबन्दी दरभाउपत्रको सूचना आह्वान गरी योग्य आपूर्तिकर्ता छनोट गरी मालसामान खरिद गर्न सकिन्छ ।

घ)  सोझै खरिद : सामन्ययता १० लाख रुपियाँसम्मको लागत अनुमान भएको मालसामान मौजुदा सूचीमा रहेका कम्तीमा तीन वटा आपूर्तिकर्तासँग लिखित रूपमा दरभाउपत्र वा प्रस्ताव माग गरी खरिद गर्न सकिन्छ । 

ङ)  उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ) खरिद गर्ने विधि : मालसामान उत्पादक कम्पनीले वेबसाइट वा ब्रोसरमार्फत सार्वजनिक गरेको विवरण तथा बिक्री मूल्यसमेतका आधारमा समान किसिमको मालसामान उत्पादन गर्ने कम्पनीले तोकेको मूल्यमा प्रतिस्पर्धा गराई यस विधिबाट मालसामान खरिद गर्न सकिन्छ । यस विधिबाट हेभी इक्विपमेन्ट, सवारीसाधन तथा स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न औजार उपकरण खरिद गर्न सकिन्छ ।

च)  सीमित बोलपत्रदाताले भाग लिने –लिमिटेड टेन्डरिङ) विधि : कुनै मालसामानको सीमित उत्पादक वा आपूर्तिकर्ता मात्र उपलब्ध भएमा त्यस्तो उत्पादक वा आपूर्तिकर्ताबिच मात्र प्रतिस्पर्धा गराई यस विधिमार्फत मालसामान खरिद गर्न सकिन्छ । 

छ)  नयाँ लिने पुरानो दिने –बाइ ब्याक मेथड) विधि : निश्चित समय पछि पुनर्प्रयोग गर्न नमिल्ने वा औचित्यहीन हुने, मर्मत गरी प्रयोगमा ल्याउँदा लागत प्रभावकारी नहुने, जनस्वास्थ्य वा वातावरणका दृष्टिले लिलाम गर्न वा भण्डारण गरी राख्न नमिल्ने वा प्रयोग गर्न नहुने प्रकृतिका मालसामान वा औजार मूल्याङ्कन गरी सम्बन्धित उत्पादक वा आधिकारिक बिक्रेता वा आपूर्तिकर्तालाई फिर्ता दिई सोही प्रकृतिको नयाँ मालसामान सोही उत्पादक वा बिक्रेता वा आपूर्तिकर्ताबाट सट्पट्टा गरी लिन सकिने खरिद विधिलाई ‘बाइ ब्याक मेथड’ भनिन्छ । यस विधिबाट खरिद गर्दा नयाँ मालसामानको निर्धारित बिक्री मूल्यबाट पुरानो सामानको मूल्याङ्कित रकम कट्टा गरी खरिद सम्झौता गरी मालसामान लिन सकिन्छ ।

– अन्त्यमा सार्वजनिक निकायले गर्ने मालसामान खरिदका लागि विभिन्न खरिद विधि प्रचलनमा रहेका छन् । सार्वजनिक निकायको आवश्यकता, जरुरीपना, मालसामानको प्रकृति तथा लागत रकमसमेतका आधारमा उपयुक्त विधि छनोट गरी मालसामान खरिद गर्न सकिन्छ । सार्वजनिक खरिदका प्रचलित सिद्धान्त, कानुन तथा प्रणाली प्रतिकूल नहुने गरी आवश्यकताका आधारमा मात्र नयाँ मालसामान खरिद गरी प्रयोग गर्नु पर्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा  

Categories

  • Current Affairs 725
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 56
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 65
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 47
Benefits of Public Environmental Services: Topical Q&A (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

सार्वजनिक वातावरणीय सेवाका लाभ : विषयगत प्रश्नोत्तर

  • Jul 29, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ साउन २०८३, बुधबार)

  • Jul 29, 2026
  • 20
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA