नागरिक बडापत्र के हो ? यसको विषेषताहरु के के हुन् ?
नागरिक बडापत्रको प्रमुख उद्देश्य सेवा प्रवाहलाई पारदर्शी, जिम्मेवार र सरल अनि प्रभावकारी बनाउनु हो । सार्वजनिक निकायले आफुले प्रदान गर्ने सेवा तथा सुविधा स्पष्ट रूपमा सेवाग्राहीले देख्न सक्ने गरी लिखित रूपमा राखिएको प्रतिबद्धता नै नागरिक बडापत्र हो । त्यसैले बडापत्र सार्वजनिक सेवा तथा वस्तुको उपलब्धता र प्राप्तिको सूचना हो । यो सेवाप्रदायक निकायले सार्वजनिक सेवाको प्राप्त गर्न नागरिकले पुराउनपर्ने प्रक्रिया, सेवाको गुणस्तर, सेवा प्राप्त गर्न लाग्ने समयावधि आदिका सम्बन्धमा एकपक्षीय रूपमा गरिएको प्रतिबद्धता हो । नागरिकलाई सेवासम्बन्धी सुसूचित गर्ने औजार नै नागरिक बडापत्र हो । बडापत्रमा गरिएको प्रतिबद्धता पूरा गर्नु सेवाप्रदायक निकायको कर्तव्य मानिन्छ।
उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ ले नेपालको सार्वजनिक प्रशासनमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक बडापत्र कार्यान्वयनमा ल्याउन गरेको सिफारिस र सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन २०६४ जारी भएपछि निजामती सेवामा नागरिक बडापत्रको वैधानिक प्रवेश भयो । सुशासनसम्बन्धी नियमावली २०६५ मा नागरिक बडापत्रसम्बन्धी कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवाप्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण, पेस गर्नुपर्ने आवश्यक कागजात प्रस्ट हुनुपर्ने उल्लेख गरिएको छ।
सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई जवाफदेही र विश्वसनीय तुल्याई सेवा प्रदान गर्ने निकाय र व्यक्तिलाई बढी जिम्मेवार, कामप्रति उत्तरदायी बनाउँदै सार्वजनिक निकायले नागरिक बडापत्र राखी बडापत्रमा प्रतिबद्धता गरिएबमोजिम सेवा प्रवाह नभएको भनी सेवाग्राहीले उजुरी गरेमा क्षतिपूर्ति प्रदान गर्नेगरी २०६९ साल माघ १५ देखि क्षतिपूर्तिसहितको नागरिक बडापत्रसम्बन्धी निर्देशिका, २०६९ पनि कार्यान्वयनमा आएको छ । निर्देशिकाअनुसार सार्वजनिक निकायले आफूले प्रदान गर्ने सेवामा क्षतिपूर्ति प्रदान गर्ने र नगर्ने सेवा छुट्टयाई नागरिक बडापत्रमा उल्लेख गर्नुपर्नेछ। यसमा सार्वजनिक सेवालाई सरल‚ सहज‚ पारदर्शी र जिम्मेवार बनाउने‚ सार्वजनिक सेवा प्रावहमा संलग्न जसशक्तिलाई आफ्नो जिम्मेवारी प्रति सजग बनाउने सेवा लगायतका विषयहरु पनि यसमा समेटिएका हुन्छन्।
नागरिक बडापत्रका विशेषताहरुः
- नागरिक बडापत्र कानुनी दस्ताबेज होइन । तर यसको परिचालनले सदाचारिता अभिबृद्धि भई सार्वजनिक प्रशासनमाथि नागरिकहरुले भरोसा गर्ने वातावरणको निर्माण हुन्छ।
- नागरिक बडापत्रले सेवा प्रदायकका साथसाथै सेवाग्राहीलाई समेत जिम्मेवार बनाउँछ भने यसको परिचालनमा जनसहभागितालाई स्थान दिइएको हुन्छ।
- नागरिक बडापत्रले सेवाको स्तरबाटै परिभाषित गर्दछ । उपलब्धिका सूचकाङ्कहरुको व्यवस्था भएको हुन्छ । सर्वसाधारण जनताले कतिसम्म अषेक्षा राख्नेछ भन्ने बारे जानकारी हुन्छ।
- नागरिक बडापत्रले सेवा प्रवाह बारे सूचना प्रवाह गर्दछ । कुन काम कसरी सम्पादन हुन्छ’ कति समय लाग्छ र कति लागत पर्दछ भनि पहिल्लै बोध हुन्छ।
- सेवा प्रकृति अनुसार छुट्टा छुट्टै बडापत्रको व्यवस्था हुन्छ।
- बडापत्र अनुसार नभएमा गुनासो सुनुवाई र क्षतिपूर्तीको व्यस्था समेत भएको हुन्छ।
नागरिक बडापत्रसम्बन्धी कानुनी व्यवस्था:
सुशासन ऐन तथा नियमावलीमा रहेको नागरिक बडापत्रसम्बन्धी व्यवस्थालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
क) सेवा प्रवाह र जनसम्पर्क गर्ने सरकारी कार्यालयले नागरिक बडापत्रलाई अनिवार्य गर्ने,
ख) नागरिक बडापत्रमा देहायका कुरा अनिवार्य उल्लेख गर्नुपर्ने,
– प्रदान हुने सेवाको प्रकृति,
– सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि,
– सेवाग्राहीले पेस गर्नुपर्ने कागजात,
– सेवा लिन लाग्ने समयावधि,
– दस्तुर वा शुल्कको विवरण,
– जिम्मेवार पदाधिकारी र निजको कार्यकक्ष विवरण,
– गुनासो सुन्ने अधिकारीको विवरण,
– सेवा प्रदायक निकायको तालुक कार्यालय र सम्पर्क नम्बर,
– सेवा प्रवाहको प्राथमिकता,
– क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरू ।
ग) नागरिक बडापत्रबमोजिम कार्यसम्पादन गर्नु कार्यालय प्रमुख र कर्मचारीको कर्तव्य हुने,
घ) मनासिव कारणबिना बडापत्रबमोजिम कार्यसम्पादन हुन नसकेमा कार्यालय प्रमुख र जिम्मेवार पदाधिकारीउपर विभागीय कारबाही हुन सक्ने,
ङ) बडापत्रबमोजिम कार्यसम्पादन नभई सेवग्राहीलाई हानि नोक्सानी हुन गएमा सोबापतको क्षतिपूर्तिको व्यवस्था गर्न सकिने,
च) क्षतिपूर्ति माग गर्ने प्रक्रिया र क्षतिपूर्ति निर्धारण समितिसम्बन्धी व्यवस्था गरिएको,
छ) यसरी पाउने क्षतिपूर्ति कार्यालय प्रमुखले सेवा प्रदान नगर्ने जिम्मेवार पदाधिकारीबाट असुलउपर गरी सेवाग्राहीलाई उपलब्ध गराउनुपर्ने,