Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

संसदीय शासन प्रणालीका विशेषता : विषयगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • August 28, 2024
  • 657

संसदीय शासन प्रणालीका विशेषता : विषयगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

संसदीय शासन प्रणालीका विशेषता : विषयगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

१.  संसदीय शासन प्रणाली भनेको के हो ? यसका आधारभूत विशेषताहरू उल्लेख गर्दै सबल र दुर्बल पक्षहरू चर्चा गर्नुहोस् ।

सरकारको गठन र विघटनमा संसद्को भूमिका प्रधान रहने शासन प्रणाली नै संसदीय शासन प्रणाली हो । यस प्रणालीमा मुलुकको कार्यकारी निकायको जननी जननिर्वाचित संसद् रहेको हुन्छ । सरकारले संसदबाट शक्ति र स्रोत प्राप्त गर्छ । संसद्को विश्वास वा अविश्वासमा सरकारको आयु टिकेको हुन्छ । सरकार सदैव संसद्प्रति उत्तरदायी हुन्छ । बहुसङ्ख्यक संसद् सदस्यको विश्वास रहेसम्म सरकार कायम रही रहन सक्छ । प्रधानमन्त्रीले संसद्को विश्वास गुमाउँदासाथ मन्त्रीपरिषद् स्वतः भङ्ग हुन्छ । संसदीय शासन प्रणालीको सुरुवात बेलायतबाट भई हाल अस्ट्रेलिया, क्यानडा, इटाली, जापान, भारतलगायत विश्वमा थुप्रै मुलुकले यस प्रणालीलाई अपनाएका छन् । वेस्टमिन्सटर प्रणाली भनेरसमेत चिनिने यस प्रणालीको अभ्यास गर्ने सिलसिलामा यसका आधारभूत विशेषतामा परिमार्जन भई लागु भएको पाइन्छ । हाल नेपालले प्रयोगमा ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीमा पनि परम्परागत संसदीय प्रणालीका विशेषताहरू परिमार्जित भई लागु भएका छन् ।

संसदीय शासन प्रणालीका आधारभूत विशेषताहरू :

– बेलायतबाट सुरुवात र विकास भई आएको संसदीय शासन प्रणालीमा अन्तरनिहित आधारभूत विशेषताहरू देहायबमोजिम रहेका छन् ।

– कार्यपालिका र व्यस्थापिकाबिच शक्ति पृथकीकरण नहुने, संसद्मा बहुमत प्राप्त दलको नेता –संसद् सदस्य) नै मन्त्रीमण्डलको नेता हुने,

– सरकार प्रमुख संसद्बाट छनोट हुने र निजको अध्यक्षतामा संसद् सदस्यहरूबाट मन्त्रीपरिषद्को गठन हुने,

– कार्यकारी अधिकार सरकार प्रमुखमा रहने र नाम मात्रको राष्ट्र प्रमुख रहने,

– शक्तिशाली प्रधानमन्त्रीको परिकल्पना हुने, मन्त्रीमण्डल गठन र सरकार सञ्चालनमा प्रधानमन्त्री प्रधान हुने,

– प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा संसद्प्रति उत्तरदायी हुने,

– संसद्को सार्वभौमिकता स्वीकार गरिने, संसदीय स्वीकृति र अनुमोदनबिना सरकारले खर्च गर्न र राजस्व उठाउन नसक्ने,

– सरकारको अवधि निश्चित नहुने, सरकारमाथि संसद्को विश्वास कायम रहेसम्म सरकार कायम रहिरहने,

– सरकार प्रमुखले संसद् विघटन गर्न सक्ने,

– प्रमुख प्रतिपक्ष दलको भूमिका र स्थान स्वीकार गरिने,

– मन्त्रीपरिषद्का निर्णयप्रति मन्त्रीपरिषद् सदस्यहरूको ऐक्यबद्धता र कार्यान्वयनमा सामूहिक जिम्मेवारी रहने,

– सामान्यता द्विसदनात्मक संसद् रहने र तल्लो सदन जनताबाट प्रत्यक्ष निर्वाचित र शक्तिशाली हुने,

क)  सबल पक्षहरू :

– कार्यकारीको स्वेच्छाचारी प्रवृत्ति रोकी शक्ति नियन्त्रण र सन्तुलनको अवस्था कायम गर्न सकिने,

– सरकारका कामकारबाहीको निगरानी गरी संसद्प्रति उत्तरदायी बनाउन सकिने,

– नाम मात्रको राष्ट्रप्रमुख रहने हुँदा राष्ट्रिय एकता र अखण्डता बलियो बनाउने तर्फ ध्यान जाने,

– दलीय ह्वीपका कारण सरकारलाई नीति तथा कार्यक्रम र बजेट पारित गराउन सहज हुने,

– संसद्मा बहुमत रहने हुँदा सरकारी विधेयकहरू पारित गराई कार्यान्वयनमा लैजान सहज हुने,

– आवधिक निर्वाचनबिना नै सरकार गठन गर्न सम्भव हुने हुँदा राजनीतिक सङ्कटको अवस्थामा निर्वाचनमा नगइकन पनि सरकार परिवर्तन गर्न सकिने,

ख)  दुर्बल पक्षहरू :

– व्यवस्थापिका र कार्यपालिकाको बिचमा शक्ति पृथकीकरणको अवस्था नरहने, एउटै दलले संसद् र सरकार नियन्त्रण गर्ने अवस्था सिर्जना हुने,

– सरकार प्रमुख नागरिकप्रति प्रत्यक्ष उत्तरदायी नरहने,

– निर्वाचनमा कुनै एउटा राजनीतिक दलले बहुमत प्राप्त गर्न नसक्दा हङ पार्लियामेन्टको अवस्था सिर्जना भई राजनीतिक अस्थिरता बढ्न सक्ने,

– प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको स्वेच्छाचारिता बढ्न सक्ने,

– विश्वासको मत र अविश्वासको प्रस्तावका कारण कार्यपालिका माथि संसद्को दबाब भइरहने,

– सरकार प्रमुखले आफू अनुकूल संसद् विघटन गर्न सक्ने अवस्था रहने,

– दलीय ह्वीपका कारण कतिपय राष्ट्रिय सरोकारका मुद्दामा दलीय दृष्टिकोण लादिन सक्ने,

– द्विसदनात्मक संसद्मा सदनहरूबिच द्वन्दको अवस्था सिर्जना हुँदा कानुन निर्माणमा सरकारले अपेक्षाकृत सहयोग प्राप्त नगर्ने,

– अन्त्यमा जुनसुकै शासन प्रणालीमा पनि गुण र दोषहरू विद्यमान हुन्छन् । शासन प्रणाली साध्य नभई साधन मात्र हो । शासन व्यवस्थाको अन्तिम ध्येय लोकतान्त्रिक मूल्य मान्यतालाई संवर्धन तथा प्रवर्धन गर्दै नागरिक र मुलुकको आर्थिक सामाजिक अवस्थामा रूपान्तरण ल्याउनु हुनु पर्छ ।

२.  व्यवस्थापन परीक्षण भनेको के हो ? सार्वजनिक निकायमा व्यवस्थापन परीक्षणको आवश्यकतामाथि प्रकाश पार्दै व्यवस्थापन परीक्षणका विषयक्षेत्रहरू उल्लेख गर्नुहोस् । 

सङ्गठनको समग्र व्यवस्थापकीय पक्षको निरीक्षण, सुपरीवेक्षण, अनुगमन, मूल्याङ्कन, जाँचबुझ र परीक्षण गर्ने कार्य नै व्यवस्थापन परीक्षण हो । निजी क्षेत्रमा विकसित भई अवलम्बन गरिँदै आएका व्यवस्थापनका नवीन मान्यता व्रmमशः सार्वजनिक क्षेत्रमा समेत आत्मसात् गर्ने व्रmममा व्यवस्थापन परीक्षणको अभ्यास नेपालको सार्वजनिक निकायमा समेत हुन पुगेको छ । निजामती सेवा ऐनले व्यवस्थापन परीक्षणलाई कानुनी आधार प्रदान गरी यसलाई थप व्यवस्थित गर्न व्यवस्थापन परीक्षण निर्देशिका समेत जारी भई कार्यान्वयनमा आएको छ । तथापि व्यवस्थापन परीक्षणको अभ्यास भने सघन रूपमा हुन सकेको छैन ।

सार्वजनिक निकायमा व्यवस्थापन परीक्षणको आवश्यकता :

– सार्वजनिक प्रशासनमा नवीन व्यवस्थापकीय अवधारणाको अभ्यास गराउँदै मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता प्रवर्धन गर्न,

– सङ्गठनमा सञ्चालित क्रियाकलापबाट सङ्गठनको लक्ष्य एवं उद्देश्य हासिल भए नभएको जानकारी प्राप्त गर्न,

– सङ्गठनका काम कारबाहीहरू स्थापित नीति, विधि र मान्यता अनुरूप सञ्चालन भए नभएको यकिन गर्न,

– सङ्गठनका नीति, कानुन, कार्यविधि तथा आन्तरिक नियन्त्रण प्रणाली पर्याप्त र कामयावी भए नभएको यकिन गर्न,

– सङ्गठनमा स्रोत साधन दुरुपयोग भए नभएको यकिन गरी सुधारका लागि व्यवस्थापनलाई सुझाव प्रदान गर्न,

– सङ्गठनात्मक सुधारका लागि उचित क्षेत्रहरू पहिचान गर्न,

– सङ्गठनका जोखिम पक्षहरू पहिचान गरी जोखिम व्यवस्थापनका रणनीतिहरू विकास गर्न,

– सङ्गठनको कार्यसम्पादनमा सुधार ल्याउन,

– व्यवस्थापनलाई नतिजाप्रति उन्मुख गराउन,

– गलत कार्य गरी सङ्गठनमा हानिनोक्सानी पु¥याउने कर्मचारी पहिचान गरी विभागीय कारबाही सिफारिस गर्न,

व्यवस्थापन परीक्षणका क्षेत्रहरू ः

– व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ ले व्यवस्था गरे अनुसार व्यवस्थापन परीक्षणका विषयक्षेत्रहरू देयायबमोजिम रहेका छन् ।

– नीतिगत तथा कानुनी व्यवस्था,

– कर्मचारी प्रशासन तथा व्यवस्थापन,

– कार्यालय व्यवस्थापन,

– अभिलेख व्यवस्थापन,

– जिन्सी व्यवस्थापन,

– वार्षिक कार्यक्रम,

– आर्थिक प्रशासन,

– सेवा प्रवाह,

– सूचना प्रवाह तथा सूचना प्रविधि,

– गुनासो व्यवस्थापन,

– क्षमता विकास,

– आचरण र अनुशासन,

– आवश्यकता अनुसारका अन्य विषयहरू ।

– सार्वजनिक निकायको समग्र व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउन सार्वजनिक निकायमा व्यवस्थापन परीक्षणको अभ्यास हुँदै आएको छ । सार्वजनिक निकायको कार्यसम्पादनमा सुधार ल्याई सेवाप्रवाह, विकास व्यस्थापन, नियमनलगायतका कार्यमा सक्षम तुल्याउन व्यवस्थापन परीक्षणको महìव उच्च रहेको छ । व्यवस्थापन परीक्षणप्रतिको बुझाइमा एकरूपता, संलग्न निकाय र पदाधिकारीको क्षमता विकास, पर्याप्त स्रोतसाधनको प्रबन्ध, प्रभावकारी प्रतिवेदन प्रणालीको स्थापना, सिफारिस कार्यान्वयन जस्ता विषयको उचित सम्बोधन गर्न सकेमा सार्वजनिक निकायमा व्यवस्थापन परीक्षण कार्यलाई प्रभावकारी बनाउन सकिन्छ ।

३.  नेपालका प्रमुख वातावरणीय समस्या र तिनका कारणहरू पहिचान गर्दै ती समस्या समाधानका सरकार बाहिरका क्षेत्रको भूमिका उल्लेख गर्नुहोस् ।

प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरू तथा यी अवयवहरूबिचको अन्तर्क्रिया र अन्तरसम्बन्ध नै वातावरण हो । यस्तो अन्तव्रिर्mया र अन्तरसम्बन्धमा गम्भीर खलल पारी पृथ्वी र पृथ्वीबासीको वर्तमान र भविष्यमा नकारात्मक असर गर्ने गतिविधि वातावरणीय समस्या हुन् । वातावरणीय समस्या समाधानमा सरकार, निजी क्षेत्र, नागरिक समाज सबैको सहकार्य र समन्वय आवश्यक पर्छ । नेपालका प्रमुख वातावरणीय समस्या देहायबमोजिम रहेका छन् ।

– बाढी, पहिरो र भूक्षय,

– हिमताल विस्फोट,

– वन फडानी र डढेलो,

– जलवायु परिवर्तनका प्रभाव,

– जैविक विविधतामा ह्रास,

– अव्यवस्थित सहरीकरण,

– जल तथा वायु प्रदूषण,

– फोहोरमैला व्यवस्थापन दिगो नहुनु ।

समस्याका कारणहरू :

– माथि उल्लिखित वातावरणीय समस्या देखापर्नुका प्रमुख कारणहरू निम्न छन् ।

– कानुनको फितलो कार्यान्वयन,

– भूउपयोग नीतिको फितलो कार्यान्वयन,

– वातावरणीय स्वच्छतासम्बन्धी मापदण्डको कमजोर परिपालना,

– कमजोर अनुगमन र नियमन,

– निकायगत एवं तहगत समन्वयको अभाव,

– पूर्वाधार निर्माणमा वातावरण संरक्षणप्रतिको न्यून संवेदनशीलता,

– जीवाश्म इन्धनमा अत्यधिक निर्रभरता एवं नवीकरणीय ऊर्जाको न्यून प्रयोग,

– विश्वव्यापी तापमानमा वृद्धि,

– जनसङ्ख्या वृद्धि र अनियन्त्रित बसाइँसराइ,

– योजनाबद्ध सहरीकरण अभ्यासको कमी,

– प्राकृतिक स्रोतसाधनको उच्च दोहन,

– विषादी र अजैविक मलको बढ्दो प्रयोग,

– अशिक्षा र न्यून चेतनास्तर,

– हेलचेक््रयाइँ र लापर्बाही,

– नैतिक र नागरिक शिक्षाको अभाव,

वातावरणीय समस्या समाधानमा सरकार बाहिरका निकायको भूमिका :

– सरकारले तय गरेका नीति, कानुन र मापदण्डको परिधिभित्र रही सरकार बाहिरका निकायले आफ्ना क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने हुन्छ ।

क) निजी क्षेत्रको भूमिका :

– सरकारको नीतिगत परिधिभित्र रही औद्योगिक, व्यापारिक एवं व्यावसायिक गतिविधि सञ्चालन गर्ने,

– वातावरणमैत्री उत्पादन, वितरण र उपभोग प्रवर्धन गर्ने,

– हरित अर्थतन्त्रको विकास र विस्तारको लागि लगानी वृद्धि गर्ने, वैदेशिक लगानीकर्तासँग रणनीतिक साझेदारी गर्ने,

– संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने,

ख)  सहकारी, गैसस र सामुदायिक सङ्गठनको भूमिका :

– वन क्षेत्रको संरक्षण, संवर्धन र विकासका लागि सरकारसँग सहकार्य गर्ने,

– वातावरणीय स्वच्छता र सामुदायिक स्वास्थ्य प्रवर्धन गर्न अभियान चलाउने,

– सामुदायिक र व्यक्तिगत तहमा वातावरणमैत्री जीवनशैलीप्रति आकर्षित गर्न जनचेतना जगाउने,

– वातावरणीय दिगोपना, जैविक विविधता र जलाधार संरक्षण, जलवायु परिवर्तन अनुकूलनलगायतका विषयमा बहस पैरवी गर्ने र अभियान सञ्चालन गर्ने,

– कृषि सहकारीले वातावरणमैत्री प्रविधि प्रयोग गरी कृषि उत्पादनमा केन्द्रित हुने,

– सहकारी मार्फत् प्राङ्गारिक कृषिमा लगानी विस्तार गर्दै रैथाने प्रजातिको विकास, संरक्षण र संवर्धनमा सरकारसँग सहकार्य गर्ने,

– वातावरणीय समस्या समाधानमा सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने,

– अन्त्यमा अदूरदर्शी र लापर्बाहीपूर्ण मानवीय क्रियाकलापले वातावरणमा हानि क्षति बढ्दै गएकाले वातावरणीय समस्याको दिगो समाधान जरुरी देखिएको छ । वातावरणीय समस्याको समाधान कुनै एक मुलुकको मात्र नभई विश्वव्यापी सरोकारको समेत विषय हो । सरकारको एकल प्रयासबाट नभई निजी क्षेत्र, सामुदायिक सङ्गठन, घरपरिवार तथा आमनागरिकको साझा प्रयासबाट यसलाई प्रभावकारी बनाउन सकिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा   

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 113
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 64
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA