Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

सार्वजनिक ऋण परिचालन : विषयगत प्रश्नोत्तर (१९ मंसिर २०८१, बुधबार)

  • Ajnabee Khadka
  • December 04, 2024
  • 320

सार्वजनिक ऋण परिचालन : विषयगत प्रश्नोत्तर (१९ मंसिर २०८१, बुधबार)

सार्वजनिक ऋण परिचालन : विषयगत प्रश्नोत्तर (१९ मंसिर २०८१, बुधबार)

१.  बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प भनेको पर्याप्त आन्तरिक रोजगारी सिर्जना नै हो भन्ने गरिन्छ । नेपालमा आन्तरिक रोजगारी सिर्जनामा देखा परेका समस्याहरू प्रस्तुत गर्दै आन्तरिक रोजगारीका अवसरहरूमा वृद्धि गरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्न अपनाउनुपर्ने उपायहरू प्रस्तुत गर्नुहोस् । 

 अरूका लागि काम गरी बदलामा ज्याला वा पारिश्रमिक प्राप्त गर्ने आर्थिक गतिविधिलाई रोजगारी भनिन्छ । मुलुकभित्र यस्ता आर्थिक अवसरहरू सिर्जना गर्नुलाई आन्तरिक रोजगारी सिर्जना भनिन्छ । जीविकोपार्जनका लागि आयआर्जन आवश्यक पर्ने र आयस्तरले व्यक्तिको जीवनको गुणस्तर निर्धारण गर्ने हुँदा मानिसहरू मर्यादित रोजगारीको खोजीमा संलग्न हुन्छन् । वार्षिक रूपमा औसत पाँच लाख हाराहारीमा श्रम बजारमा प्रवेश गर्ने युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न नसक्दा नेपालको लागि वैदेशिक रोजगारी बाध्यता जस्तै बन्ने गरेको छ । आन्तरिक रोजगारी सिर्जना गर्न नीतिगत तथा कार्यक्रमगत पहलहरू भए तापनि प्रभावकारी नतिजा हासिल हुन सकेको छैन । मुलुकमा आन्तरिक रोजगारी सिर्जनामा देखिएका समस्याहरू यस प्रकार छन् :

– आन्तरिक रोजगारी सिर्जना गर्ने ठोस नीतिको अभाव,

– बजारको माग र उपलब्ध जनशक्तिको सिपबिच तालमेल नहुनु,

– उत्पादनमूलक उद्योगको न्यूनता,

– वैदेशिक लगानी आशातीत रूपमा भित्रिन नसक्नु,

– परम्परागत र निर्वाहमुखी कृषि प्रणाली,

– उद्यमशील बन्नेभन्दा जागिरलाई महìव दिने सोच र व्यवहार,

– न्यून ज्याला, अस्थिरता र असुरक्षा,

– पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी फस्टाउन नसक्नु,

– सरकारी आयोजनाहरूको कार्यान्वयनमा ढिलासुस्ती,

– व्यवसाय सञ्चालन र कर्जा प्राप्तिमा प्रक्रियागत झन्झटहरू रहनु,

– तीन तहबाट सञ्चालित सरकारी कार्यक्रमको प्रभावकारिता न्यून रहनु,

– सहकारी क्षेत्र उत्पादनमूलक क्षेत्रमा आकर्षित हुन नसक्नु,

– निजी क्षेत्रको क्षमता विकास र प्रोत्साहनमा सरकारी उदासीनता ।

आन्तरिक रोजगारीका अवसर वृद्धि गरी बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्ने उपायहरू ः

क)  नीति तथा योजना तर्जुमा र कार्यान्वयन

– एकीकृत रोजगार नीति तर्जुमा गर्ने,

– बजारको माग पूर्ति गर्न मानव संसाधन विकास योजना तर्जुमा गरी लागु गर्ने,

– लघु, घरेलु, साना तथा मझौला उद्योग विकासका लागि छुट्टै नीतिगत व्यवस्था गर्ने,

– अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन नीतिगत तथा कानुनी सुधार गर्ने,

– आन्तरिक रोजगारी सिर्जना गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने नीति लिने,

ख)  अन्तरसरकार समन्वय र सहकार्य 

– तीनै तहका सरकारले आन्तरिक उत्पादन वृद्धि र रोजगार सिर्जना गर्न टेवा दिने गरी बजेटरी प्रणाली विकास गर्ने,

– तीनै तहका सरकारबाट सञ्चालित सिप विकास तथा उद्यमी सिर्जना गर्ने तालिम कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी परिमार्जन गर्ने,

– रोजगार सम्बद्ध तहगत तथा निकायका सूचनाहरू आदानप्रदान गर्न सूचना व्यवस्थापन प्रणालीहरू विकास गरी तीनै तहले उपयोग गर्ने,

ग)  स्रोत व्यवस्थापन 

– तीनै तहका सरकारले लगानी सम्मेलन गरी उत्पादन र रोजगारमूलक निजी लगानी आकर्षित गर्ने,

– दातृ निकायको सहयोगको प्रभावकारी उपयोग गर्ने,

– सरकारी कार्यक्रमको सघन अनुगमन गरी अनियमितता तथा चुहावट नियन्त्रण गर्ने,

– विप्रेषणलाई आन्तरिक रोजगारी सिर्जनामा उपयोग गर्न प्रोत्साहन गर्ने,

– गैरसरकारी संस्थाहरूका कार्यक्रमलाई प्रभावकारी बनाउने,

घ)  शिक्षा, तालिम र नवप्रवर्तन

– शिक्षालाई सिप र उद्यमसँग जोड्दै लैजाने,

– विद्यालय र विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीमा श्रम, उत्पादन र उद्यमशीलताप्रति सकारात्मक सोच र भोक जगाउने गरी पाठ्यक्रम विकास गर्ने, 

– शिक्षा र तालिममार्फत श्रमिकको क्षमता र दक्षता विकास गर्ने,

– उद्यमीहरूलाई सूचना प्रविधिको प्रयोगसम्बन्धी तालिम प्रदान गर्ने,

– स्टार्ट अपहरूको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्यमा बिजनेस इन्कुवेटर तथा एसेलेरेटर केन्द्र, नवप्रवर्तन केन्द्रहरू स्थापना गरी सञ्चालन गर्ने,

– अनौपचारिक क्षेत्रको सिप प्रमाणीकरणको व्यवस्था गर्ने,

ङ)  सूचना तथा सञ्जाल व्यवस्थापन

– श्रम बजार सूचना प्रणालीलाई बृहत् र व्यवस्थित बनाउने,

– तीनै तहका सरकारका निकायबाट सञ्चालनमा रहेका सिप विकास, परीक्षण र प्रमाणीकरणसम्बन्धी सेवाहरूको एकीकृत सूचना सञ्जाल निर्माण गरी उपयोग गर्ने,

– विद्युतीय व्यापार (इ–कमर्स) विकासका जटिलताहरू पहिचान गरी निकास दिने, 

च)  अन्य उपायहरू :

– कृषिको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्न उत्पादनमा आधारित प्रोत्साहन प्रणाली लागु गर्ने,

– स्वरोजगारमा संलग्न नयाँ उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने,

– व्यवसाय सञ्चालनमा देखा पर्ने प्रशासनिक झन्झटहरूलाई सरलीकृत गर्ने,

– महिला र युवा उद्यमीहरूका लागि सहज रूपमा कर्जा प्राप्त हुने व्यवस्था गर्ने,

– श्रमिकको सामाजिक सुरक्षा, स्वास्थ्य, कार्यस्थल सुरक्षालगायतका विषयमा ध्यान दिने, 

– स्थानीय स्तरका साना पूर्वाधार निर्माणमा श्रममूलक विधिहरू अवलम्बन गर्ने,

– सहकारी क्षेत्रको नियमनमा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आकर्षित गर्ने,

– अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा देखिएका जटिलताहरूको सम्बोधन गर्ने ।

– अन्त्यमा रहरले नभई करले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारीका अवसरहरू सिर्जना गर्नु अपरिहार्य हुन्छ । आन्तरिक रोजगारीले मुलुकभित्रको उत्पादन बढाई आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गरी व्यापार घाटा न्यूनीकरणमा सहयोग गर्छ । यसले आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्दै मुलुकको आर्थिक विकासमा समेत टेवा पुर्‍याउने हुँदा माथि उल्लेखित उपायहरूलाई समन्वयात्मक ढङ्गले कार्यान्वयन गरी आन्तरिक रोजगारीका अवसरमा वृद्धि गर्नु पर्छ ।

 

२.  राष्ट्रिय विकास समस्या समाधान समितिको सङ्क्षिप्त परिचय दिँदै यसका काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् ।

 मुलुकको विकास नीति, योजना तथा सोको प्रगति समीक्षा र विकास व्यवस्थापनमा देखा परेका समस्याको नीतिगत हल खोज्ने गरी काम गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहने समिति राष्ट्रिय विकास समस्या समाधान समिति हो । यस समितिमा नेपाल सरकारका मन्त्रीहरू, मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरू, मुख्य सचिव, अर्थ सचिव सदस्य रहने र आयोगका सचिव सदस्य सचिवको रूपमा रहने व्यवस्था छ । साथै समितिको बैठकमा तीनै तहका सरकारका पदाधिकारी वा विशेषज्ञलाई समेत आमन्त्रण गर्न सकिने व्यवस्था छ । अनुगमन तथा मूल्याङ्कन ऐन, २०८० ले यस समितिको व्यवस्था गरी यसका काम, कर्तव्य र अधिकार देहायबमोजिम निर्धारण गरेको छ :

– नेपाल सरकारका मन्त्रालय अन्तर्गत पर्ने विकास नीति, आयोजना वा कार्यक्रिम कार्यान्वयन प्रगतिको समीक्षा गर्ने,

– मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिबाट प्राप्त समस्या सम्बन्धमा छलफल गरी आवश्यक निर्देशन दिने,

– सरकारका विकास नीति, आयोजना वा कार्यक्रिम कार्यान्वयनमा देखिएको समस्याको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गर्ने गराउने,

– सरकारका विकास नीति, आयोजना वा कार्यक्रिमको कार्यान्वयन तहमा भएका अन्तरमन्त्रालयगत तथा नीतिगत समस्याको समाधान गर्ने,

– सार्वजनिक निकायबाट निर्दिष्ट लक्ष्य अनुसार प्रतिफल प्राप्त नभएका आयोजना वा कार्यक्रिम र त्यस्ता आयोजना वा कार्यक्रिमको प्रमुखको कार्यसम्पादनको बारेमा छानबिन गराउने,

– नेपाल सरकारबाट वित्त हस्तान्तरण अन्तर्गत सञ्चालनमा रहेका आयोजना वा कार्यक्रिमको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई निर्देशन दिने,

– नेपाल सरकारले राष्ट्रिय विकास समस्या समाधान समितिले गर्ने भनी तोकेका कार्यहरू गर्ने ।

– राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले गरेका निर्णयलाई कार्यान्वयन गरी मुलुकको विकास व्यवस्थापनमा देखा परेका समस्याहरू समाधान गर्न सम्बन्धित तह वा निकाय जिम्मेवार बन्नु पर्छ ।

 

३.  नेपालको संविधानले के कस्ता विषयमा सङ्घीय संसद्का सदनबिच आपसी समन्वयमा जोड दिएको छ ? उल्लेख गर्नुहोस् ।

 नेपालको सङ्घीय संसद्मा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनको व्यवस्था गरिएको छ । नेपालको संविधानले दुई सदनबिचमा देहायका विषयमा कार्यसम्पादन गर्दा आपसी समन्वय गर्नुपर्ने कुरामा जोड दिएको पाइन्छ । 

– सङ्घीय व्यवस्थापन कार्यविधि अन्तर्गत विधेयक पारित गर्ने विषय,

– दुई सदनको संयुक्त बैठकको कार्यसञ्चालनको विषय,

– सङ्घीय संसद्को संयुक्त समितिको गठन र कार्यसञ्चालन,

– नेपाल सरकारको नीति तथा कार्यक्रम पेस र पारित गर्ने विषय,

– राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र निजविरुद्धको महाभियोग,

– विभिन्न नियुक्तिमा हुने संसदीय सुनुवाइको विषय,

– राजस्व र व्ययको वार्षिक अनुमान पेस र पारित गर्ने विषय,

– संविधान संशोधन,

– सङ्कटकाल घोषणाको अनुमोदन,

– जनमत सङ्ग्रहको अनुमोदन,

– सन्धि सम्झौताको अनुमोदन,

– सङ्घीय संसद्को महासचिवको नियुक्ति,

– सचिवालय सञ्चालन तथा व्यवस्थापन,

– तीन तहबिचको व्यवस्थापिकीय अन्तरसम्बन्ध कायम गर्ने विषय ।

– सङ्घीय संसद्का यी दुई सदनबिच संरचनागत र कार्यगत रूपमा केही भिन्नता रहेका छन् । कार्यसम्पादनको क्रममा यी दुई सदनबिच हुने समन्वय, सहकार्य, परस्पर सहयोग एवं आपसी विश्वासबाट यिनीहरू बिचको अन्तरसम्बन्ध मजबुद बन्न सक्छ ।

 

४.  संवैधानिक निकायको परिचय दिँदै संवैधानिक निकाय र कानुन निर्मित निकायका बिचमा रहेका समानता र भिन्नताहरू उल्लेख गर्नुहोस् ।

 संविधानमा नै गठन प्रक्रिया उल्लेख गरी काम, कर्तव्य र अधिकार निर्धारण गरिएका निकायहरू संवैधानिक निकायहरू हुन् । संविधानले सरकारको कार्यपालिकीय अङ्गमाथि कम विश्वास गरी कार्यकारिणी प्रकृतिका केही विशिष्ट कार्यहरू गर्न संवैधानिक निकायको व्यवस्था गरेको हुन्छ । कार्यकारी अङ्गले सम्पादन गर्ने यस्ता कार्यमा निष्पक्षता र प्रभावकारिता हासिल गर्न संवैधानिक निकायको खोजी हुने गरेको छ । यी निकायहरूले सरकारको कार्यपालिकीय अङ्गको स्वच्छता र प्रभावकारिता परीक्षण गरी सीमित र उत्तरदायी कार्यकारी अङ्गको अवधारणा कार्यान्वयन गर्न सहयोग गर्दछन् । कार्यकारीले सम्पादन गर्ने अन्य कम महìवपूर्ण तर विशिष्ट प्रकृतिका कार्यलाई संवैधानिक हैसियतमा नराखी अन्य कानुनबाट व्यवस्था गरी कानुन निर्मित निकायको रूपमा स्थापना गर्ने प्रचलन रहेको छ । 

क)  समानताहरू :

– विशिष्टीकृत स्वरूपको कार्यक्षेत्र रहने,

– कार्यक्षेत्र परिभाषित गरिने,

– राज्यका उद्देश्य तथा नीतिलाई सफल पार्ने साझा लक्ष्य रहने,

– विधिको शासनको मान्यता अनुरूप कार्य सम्पादन गर्ने,

– कार्यकारीको कार्यसम्पादनमा सहयोग गर्ने ।

ख)  भिन्नताहरू :

– संवैधानिक निकाय गठनको आधार संविधान हुन्छ र त्यहीबाट शक्ति निसृत हुन्छ तर कानुन निर्मित निकाय गठनको आधार संविधान अनुकूलका अन्य कानुनहरू हुने गर्छन् र तिनै कानुनी दस्ताबेजबाट यी निकायले अधिकार प्राप्त गर्छन् ।

– संवैधानिक निकायका पदाधिकारीको नियुक्ति गर्न संवैधानिक परिषद्को सिफारिस, सार्वजनिक सुनुवाइ र राष्ट्र प्रमुखबाट नियुक्ति हुने गर्छ । कानुन निर्मित निकायका पदाधिकारीहरूको नियुक्ति कानुनबमोजिम सरकारले गर्न सक्छ ।

– संवैधानिक निकायका पदाधिकारीका नियुक्तिका आधार, सुविधा र पारिश्रमिकका सम्बन्धमा संविधानमा उल्लेख गरिएको हुन्छ । कानुन निर्मित निकायको नियुक्तिका आधार, सुविधालगायतका विषय कानुन तथा कार्यकारीको निर्णयबमोजिम हुने गर्छन् ।

– संवैधानिक निकायमा स्रोतसाधन व्यवस्थापनमा बाहेक अन्य हिसाबले कार्यकारीको हस्तक्षेप रहँदैन । कानुन निर्मित निकायमा कार्यगत रूपमा समेत कार्यकारीको हस्तक्षेप रहन सक्छ । 

– संवैधानिक निकायलाई आफ्नो नियमावली आफैँ बनाउन सक्ने गरी अधिकार प्रदान गरिएको हुन्छ । कानुन निर्मित निकायको लागि तोकिएको पदाधिकारी वा निकायले सो कार्य गर्छन् ।

– संवैधानिक निकायका पदाधिकारीको सुविधाको व्ययभार संविधानबमोजिम सङ्घीय सञ्चित कोष माथि पर्छ भने कानुन निर्मित निकायका पदाधिकारीको खर्चको व्यवस्थापन विनियोजन ऐनबमोजिम हुने गर्छ ।

– संवैधानिक निकायको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेस गर्न लगाउने व्यवस्था गरिएको हुन्छ भने कानुन निर्मित निकायको हकमा सम्बन्धित मन्त्रालय वा निकायमा पेस गर्ने व्यवस्था रहेको हुन्छ । 

– संवैधानिक निकायका पदाधिकारीलाई सामान्यताः संसद्बाट महाभियोग प्रस्ताव पारित गरेर मात्र हटाउन सकिने व्यवस्था रहेको हुन्छ । कानुन निर्मित निकायका पदाधिकारीहरू सामान्यतया कार्यकारीको निर्णयबमोजिम हटाउन सकिने प्रावधान रहेको हुन्छ ।

– लोक सेवा आयोग, निर्वाचन आयोगलगायत अन्य १३ वटा निकाय संवैधानिकको रूपमा संविधानमा व्यवस्था गरिएको छ । प्राधिकरण, विकास समितिहरू, सार्वजनिक संस्थान, केन्द्र आदि कानुन निर्मित निकायका उदाहरण हुन् । 

– अन्त्यमा कार्यपालिकाको कार्यलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पादन गर्न सहयोग पु¥याउनु संवैधानिक निकायको मुख्य जिम्मेवारी रहेको हुन्छ । संवैधानिक निकायको सफलता भनेको सरकारको सफलता हो । सरकारको कार्यसम्पादनमा आम नागरिकको विश्वास आर्जन गर्न संवैधानिक निकायले प्रदान गर्ने सुझाव कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने देखिन्छ ।

 

५.  सार्वजनिक ऋण परिचालनको उद्देश्यमाथि प्रकाश पार्दै यसको परिचालन गर्दा ध्यान दिनुपर्ने विषयहरू उल्लेख गर्नुहोस् ।

 बजेट घाटा पूर्ति गर्न सरकारले लिने ऋणलाई सार्वजनिक ऋण भनिन्छ । यस्तो ऋण आन्तरिक र बाह्य गरी दुई प्रकारको हुन्छ । यो सरकारको वित्त नीतिको महत्वपूर्ण औजार भएकाले सरकारले अर्थतन्त्रमा वाञ्चित प्रभाव पार्न सार्वजनिक ऋण परिचालन गर्ने गर्छ ।

क)  सार्वजनिक ऋण परिचालनको उद्देश्य :

– सरकारी आय र व्ययबिचको खाडल पूर्ति गर्नु,

– बृहत् पूर्वाधार निर्माणमा परिचालन गरी दिगो आर्थिक वृद्धि हासिल गर्नु,

– निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नु, 

– रोजगारीका अवसर सिर्जना गर्नु,

– सार्वजनिक खर्चको माध्यमबाट अर्थतन्त्रलाई चलायमान र स्वस्थ बनाइराख्नु,

ख)  सार्वजनिक ऋण परिचालन गर्दा ध्यान दिनुपर्ने विषयहरू

– समष्टिगत आर्थिक स्थायित्व हुने गरी ऋण उपयोग गर्ने,

– पुँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील र रोजगारमूलक क्षेत्रमा परिचालन गर्ने,

– सार्वजनिक ऋणलाई सरकारको राजस्व वृद्धिमा टेवा पुग्ने गरी परिचालन गर्ने,

– ऋण परिचालनबाट साँवा र ब्याज भुक्तानी सुनिश्चित हुने परियोजना छनोट गरी उपयोग गर्ने,

– साधारण प्रकृतिका खर्च र अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋण लगानी नगर्ने,

– सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने गरी ऋण परिचालन गर्ने,

– बाह्य ऋण परिचालन गर्दा सहुलियतपूर्ण ऋणलाई प्राथमिकता दिने,

– आन्तरिक ऋण परिचालन गर्दा निजी क्षेत्र बजारबाट विस्थापित हुन सक्ने अवस्थाप्रति सचेत रहने,

– ऋण सेवा खर्चमा कमी ल्याउने गरी साँवा ब्याज भुक्तानीको व्यवस्था मिलाउने,

– सार्वजनिक ऋण परिचालनको अवस्थाको बारेमा संसद्लाई प्रस्टसँग जानकारी गराउने,

– सार्वजनिक ऋण तत्काल सरकारको दायित्वको रूपमा देखिए तापनि नागरिकबाट सङ्कलित करबाट क्रमशः भुक्तानी हुने हुँदा ऋणको भार जनतामाथि नै रहन्छ । 

– सार्वजनिक ऋणको परिचालनबाट आर्थिक सामाजिक प्रतिफल सुनिश्चित हुन सकेमा मात्र ऋण लिनुको औचित्य पुष्टि हुन सक्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा  

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 113
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 64
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA