नेपालको सांस्कृतिक जीवन
प्राचीन कालदेखि नै नेपाल विभिन्न धर्म मान्ने मानिसहरूको साझा बसोबासको थलो रहिँदै आएको छ। नेपालमा मुख्यतः हिन्दु धर्म र बौद्ध धर्मका अनुयायीहरूको बहुलता देखिन्छ। यीबाहेक इस्लाम, इसाई, किराँत, वहाई, सिख लगायत अन्य धर्म मान्ने समुदायहरू पनि समान रूपमा स्वतन्त्रतापूर्वक बसोबास गर्दै आएका छन् । हिन्दु धर्मभित्र शैव, वैष्णव, शाक्त, सौर्य आदि प्रमुख सम्प्रदाय पर्दछन् भने बौद्ध धर्ममा हिनयान, महायान, वज्रयान, तन्त्र–मन्त्रयान, सहजयान, बोनपो तथा लामा सम्प्रदाय समावेश हुन्छन्। समयसँगै यी धर्म, सम्प्रदाय तथा उपसम्प्रदायहरूमा विभिन्न परिवर्तन र परिमार्जनहरू आएका छन् । नेपाली समाजमा प्रकृति, पितृ र अदृश्य शक्तिको पूजा गर्ने परम्परा पनि प्रचलित छ। पश्चिम नेपालमा ‘मस्टो’, पूर्वी पहाडमा ‘चण्डी’ वा ‘देवी’, तराई क्षेत्रमा ‘संसारीमाई’ तथा हिमाली क्षेत्रमा हिन्दु तथा स्थानीय देव–देवीप्रतिको गहिरो आस्था पाइन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो। यहाँ सांस्कृतिक विविधताबीच अद्भुत एकता देखिन्छ। प्राचीन समयदेखि नै विभिन्न संस्कृतिहरूबीच मेलमिलाप, सहअस्तित्व र आदान–प्रदान हुँदै आएको छ । यसरी हेर्दा नेपाल साझा संस्कृति विकसित भएको अद्वितीय देश हो भन्न सकिन्छ ।