धिमाल आदिवासी जनजाति समुदाय
धिमाल समुदाय नेपालको आदिवासी जनजातिहरू मध्ये एक हो, जसको प्रमुख बसोबास झापा, मोरङ र सुनसरी जिल्लामा रहेको छ। यिनीहरू भोटबर्मेली भाषापरिवारको धिमाल भाषा बोल्ने गर्छन् । धिमालहरूलाई कतिपय ठाउँमा “तराईका किराँती” पनि भनिन्छ । धिमाल समुदायका मानिसहरू मुख्य रूपमा कृषि, व्यापार, मजदुरी तथा वैदेशिक रोजगारी जस्ता पेशामा संलग्न छन् । यिनीहरू प्रकृतिपूजक हुन् र चार शक्तिको पूजा गर्छन्—
-
प्रकृतिशक्ति: सिमे भूमे, वनजंगल, खोलानाला, सिमसार, सिकार, धरतीमाता आदि
-
पितृशक्ति: मृत्यु भइसकेका तीन पुस्ताका पितृहरू
-
धामीशक्ति: धामीले ग्रामथानमा पूजा गर्ने तीन पुस्ताका धामी पितृहरू
-
राजाशक्ति: आदिकालमा गाउँको नेतृत्व गर्ने माझीवाराङ राजा
प्रत्येक वर्ष वैशाख २ गते लेटाङ–राजारानी धिमाल डाँडामा जात्री मेला लाग्छ। त्यसपछि हरेक गाउँटोलमा माझीवाराङको नेतृत्वमा सिर जात र जात्री मेलाको आयोजना गरिन्छ । असार २ गते मोरङको मंगलबारेमा सिर जात तथा मेलाको समापन गरिन्छ धिमालहरूको प्रमुख चाडपर्वहरूमा तिहार, सिर जात, जात्री, फागु, माघे सङ्क्रान्ति र सिरुवा पर्छन्। महिलाहरू तान बुन्ने, घरेलु कपडा उत्पादन गर्ने, साथै ढोल, उर्नी, सेरेञ्जा, माछा मार्ने जाल, धानको बिउ राख्ने फुरा आदि बनाउने सीपमा निपुण हुन्छन् । धिमाल गाउँटोलहरूमा माझीवाराङ नामक परम्परागत संस्था रहन्छ, जसले स्थानीय कानुन र प्रथाहरूको पालन सुनिश्चित गर्छ । धामीहरूले ग्रामथानमा पूजा गरेर गाउँको रक्षा गर्छन्, र ओझाहरूले रोग–व्याधी निवारणका लागि जोखाना र उपचार गर्छन् । धिमाल समुदाय आफ्नै भाषा, सीप, कला, प्रविधि, ओखती–उपचार र संस्कृतिका कारण अत्यन्त धनी र विशिष्ट समुदाय हो ।