मध्यकाल (वि.सं. १८२५–२००७)
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको पहिलो चरण वि.सं. १८२६ (सन् १७६९) मा पूरा गरेका थिए। त्यसबेला राजाहरूले हिन्दु धर्मानुसार शासन गर्थे र राजा नै प्रशासनका सर्वेसर्वा मानिन्थे । शासन केन्द्रीयकृत थियो। राजाले आफ्ना नातेदार वा प्रिय पात्रहरूलाई प्रशासनका महत्वपूर्ण पदमा नियुक्त गर्थे । यस कालको अन्त्यतिर राजाको शक्तिलाई कमजोर पार्दै राणा परिवारले निरङ्कुश जहानियाँ शासन चलायो । द्रव्य शाहलाई गोर्खा विजयमा सहयोग गर्ने अर्याल, पाण्डे, खनाल, पन्त, बोहरा र राणा (छ थर) लाई प्रशासनका प्रमुख पदहरूमा अवसर दिइन्थ्यो। पछि राणाकालमा यी थरहरूको सट्टा कुँवर (राणा), बस्नेत र थापाको वर्चस्व कायम भयो । यस समयमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टै व्यवस्था थिएन। सबै अधिकार राजा वा राणामै निहित थियो। यद्यपि शासन सञ्चालनका लागि भारदार प्रणाली र दैनिकीका लागि प्रशासनिक संरचना स्थापित गरिएको थियो ।
मुख्य पदहरू
गुरु, चौतारिया, काजी, सरदार, खजाञ्ची, द्वारे, कपरदार, दादा आदि उच्च पदमा भारदारहरू रहन्थे । प्रशासनिक तहमा धर्माधिकारी, पुरोहित, कप्तान, मीर मुन्सी, वकिल, सुब्बा, डिठ्ठा, खरदार, मुखिया, कोतवाल, विचारि, दरोगा, तहबिलदार, उमराव, कोते जमदार आदि पदहरू रहेका थिए ।
यस कालका प्रमुख प्रशासनिक सुधार र कार्यहरू:
-
पृथ्वीनारायण शाहले योग्य र सक्षम व्यक्तिलाई नियुक्ति र पदोन्नति गर्ने उद्देश्यले सैनिक सेवामार्फत पजनी प्रणाली सुरु गरे। युद्धमा वीरगति प्राप्त गर्ने सैनिकका परिवारलाई सन्तान हुर्किनेसम्म जग्गाको रूपमा भत्ता प्रदान गर्ने “मरवट नीति” अवलम्बन गरे।
-
रणोद्धीप सिंहले कर्मचारीहरूलाई नगद ऋण दिनका लागि तेजारथ अड्डा स्थापना गरे।
-
वीर शमशेरले प्रशासनिक सुधारका प्रयत्नस्वरूप दौडाहा प्रणाली सुरु गरे।
-
वि.सं. १९५० मा उनले प्रशासनिक कार्य व्यवस्थित गर्न देशलाई ३५ जिल्लामा (तराईमा १२, पहाडमा २३) विभाजन गरे र प्रत्येक जिल्लामा बडाहाकिमलाई प्रमुख प्रशासकको रूपमा नियुक्त गरे।
-
देव शमशेरले कार्यालय समय बिहान १० देखि बेलुकी ५ बजे सम्म निर्धारण गरे।
-
चन्द्र शमशेरले वि.सं. १९७४ मा खड्ग निशानको छाप चलनमा ल्याए।
-
उनले नै सरकारी सेवामा प्रवेशका लागि चार कक्षा पास अनिवार्य गरी कर्मचारी तालिम प्रणालीको सुरुवात गरे।
-
भीम शमशेरले शनिबार विदा दिने व्यवस्था गरे, कार्यालय समय बिहान १० देखि साँझ ४ सम्म कायम गरे र काठमाडौंको डिल्लीबजारमा छरिएका सरकारी अड्डाहरूलाई एउटै ठाउँमा राखी चारखाल अड्डा स्थापना गरे।
-
जुद्ध शमशेरले सैनिक द्रव्यकोष स्थापना गरे र सैनिक तथा निजामती कर्मचारीहरूका लागि निवृत्तिभरण (पेन्सन) प्रणाली लागू गरे।