नेपालको निर्वाचन प्रणाली
निर्वाचन प्रणालीको आधार र परिभाषा:
- निर्वाचन प्रणाली भनेको मतदाताले मतदानको माध्यमबाट दिएको मतलाई सिटमा रूपान्तरण गर्ने विधि र तरिका हो।
- निर्वाचन प्रणाली तय गर्दा देशको भौगोलिक, सामाजिक, सांस्कृतिक र शैक्षिक स्थिति, उपलब्ध प्राविधिक, प्रशासनिक तथा आर्थिक स्रोतहरूलाई आधार मानिन्छ।
- मुख्य रूपमा निर्वाचन क्षेत्रको आकार, मतपत्रको ढाँचा र मतलाई सिटमा रूपान्तरण गर्ने सूत्र नै निर्वाचन प्रणालीका मुख्य तीन आधार हुन्।
नेपालमा अवलम्बन गरिएको निर्वाचन प्रणाली:
- नेपालको संविधानले देशमा मिश्रित निर्वाचन प्रणाली (Mixed electoral system) को व्यवस्था गरेको,
- यस अन्तर्गत पहिलो हुने निर्वाचित हुने (First-past-the-post (FPTP)) र समानुपातिक निर्वाचन प्रणाली (Proportional representation (PR)) गरी दुईवटा विधिहरूलाई मिसाएर प्रतिनिधित्व गराइन्छ,
| विशेषता | पहिलो हुने निर्वाचित हुने (FPTP) | समानुपातिक निर्वाचन प्रणाली (PR) |
| १. परिभाषा | यो सबैभन्दा सरल प्रणाली हो, जहाँ एक निर्वाचन क्षेत्रबाट एकजना मात्र प्रतिनिधि निर्वाचित हुन्छन्। | दलले प्राप्त गरेको कुल मतको अनुपातमा सिट संख्या निर्धारण गरिने प्रणाली हो। |
| २. निर्वाचन क्षेत्र | मुलुकलाई विभिन्न साना भौगोलिक क्षेत्रमा विभाजन गरिन्छ (जस्तै: प्रतिनिधिसभाका लागि १६५ क्षेत्र)। | सामान्यतया सम्पूर्ण मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ। |
| ३. मतदान प्रक्रिया | मतदाताले प्रत्यक्ष रूपमा आफूलाई मन परेको उम्मेदवार वा उसको चिन्हमा मतदान गर्छन्। | मतदाताले उम्मेदवारलाई नभई राजनीतिक दल को चुनाव चिन्हमा मतदान गर्छन्। |
| ४. विजयी हुने आधार | प्रतिस्पर्धीहरूमध्ये जसले सबैभन्दा बढी सदर मत प्राप्त गर्छ, ऊ नै विजयी हुन्छ (५०% मत अनिवार्य छैन)। | दलले प्राप्त गरेको कुल मत प्रतिशतका आधारमा सिट बाँडफाँड गरिन्छ। |
| ५. उम्मेदवार छनौट | दलले प्रत्येक क्षेत्रमा एक जना उम्मेदवार खडा गर्छन्। | दलले निर्वाचन अगावै प्राथमिकता क्रम अनुसारको 'बन्द सूची' आयोगमा बुझाउनुपर्छ। |
| ६. जवाफदेहिता | उम्मेदवार र मतदाताबीच प्रत्यक्ष सम्बन्ध हुने हुँदा प्रतिनिधि मतदाताप्रति बढी जवाफदेही हुन्छन्। | प्रतिनिधिहरू दलप्रति बढी जवाफदेही हुन्छन् किनभने उनीहरू दलको सूचीबाट छानिएका हुन्छन्। |
| ७. समावेशिता | यसमा समावेशिता सुनिश्चित गर्न कठिन हुन्छ, किनकि यो प्रत्यक्ष प्रतिस्पर्धामा आधारित छ। | यसले साना दल, महिला, दलित, अल्पसंख्यक र पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्छ। |
| ८. मतको सदुपयोग | विजयी उम्मेदवार बाहेक अन्यलाई दिएको मत खेर जान्छ (Wasted Votes)। | थ्रेसहोल्ड कटाउने दललाई दिएको हरेक मत सिट गणनामा प्रयोग हुन्छ, मत खेर जाने सम्भावना कम हुन्छ। |
संघीय संसदको गठन:
प्रतिनिधि सभा (तल्लो सदन):
- कुल सदस्य संख्या: २७५ जना
- पहिलो हुने निर्वाचित हुने (FPTP): १६५ निर्वाचन क्षेत्रबाट ६० प्रतिशत (१६५ सदस्य) प्रत्यक्ष निर्वाचित हुन्छन्,
- समानुपातिक प्रणाली (PR): ४० प्रतिशत (११० सदस्य) सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दलले पाएको मतका आधारमा निर्वाचित हुन्छन्,
राष्ट्रिय सभा (माथिल्लो सदन):
- कुल सदस्य संख्या: ५९ जना (५६ निर्वाचित + ३ मनोनित)
- निर्वाचन प्रक्रिया: सातै प्रदेशबाट ८ जनाका दरले (३ महिला, १ दलित, १ अपाङ्गता/अल्पसंख्यक सहित) ५६ जना निर्वाचित हुन्छन्,
- निर्वाचक मण्डल: प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख
- मनोनयन: सरकारको सिफारिसमा राष्ट्रपतिबाट १ महिलासहित ३ जना सदस्य मनोनित हुन्छन्,
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन:
- राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डल (Electoral College) बाट हुन्छ,
- विजयी हुने आधार: निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ,
- दोस्रो चरणको मतदान: पहिलो पटक कसैले बहुमत नल्याएमा बढी मत पाउने शीर्ष दुई उम्मेदवारबीच पुनः मतदान गराइन्छ,
प्रदेश सभाको गठन:
- कुल सदस्य संख्या: सातै प्रदेशमा गरी जम्मा ५५० सदस्य।
- निर्वाचन प्रणाली: प्रतिनिधि सभा जस्तै मिश्रित प्रणाली (६०% FPTP र ४०% PR)।
- बनोट: ६० प्रतिशत सदस्य प्रत्यक्ष मतदानबाट र ४० प्रतिशत सदस्य समानुपातिक सूचीबाट छानिने व्यवस्था छ।
स्थानीय तहको निर्वाचन:
- निर्वाचन विधि: सबै पदका लागि पहिलो हुने निर्वाचित हुने (FPTP) प्रणालीमार्फत प्रत्यक्ष मतदान हुन्छ।
- निर्वाचित हुने पदहरू: गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरू।
- समावेशी प्रावधान: प्रत्येक वडामा कम्तीमा १ जना महिला र १ जना दलित महिला सदस्यको प्रतिनिधित्व अनिवार्य गरिएको छ।
मतदाता र उम्मेदवारको योग्यता:
• मतदाताको योग्यता: १८ वर्ष उमेर पूरा भएको, मतदाता नामावलीमा नाम दर्ता भएको र सम्बन्धित क्षेत्रमा स्थायी बसोबास भएको नेपाली नागरिकले मतदान गर्न पाउँछन्,
• उम्मेदवारको योग्यता: प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार हुन कम्तीमा २५ वर्ष र राष्ट्रिय सभाको उम्मेदवार हुन ३५ वर्ष उमेर पूरा भएको; राष्ट्रपति वा उपराष्ट्रपति हुन ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था,
निर्वाचन व्यवस्थापन र निर्वाचन क्षेत्र निर्धारण:
- निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्न एक स्वतन्त्र संवैधानिक निकायको रूपमा निर्वाचन आयोग रहेको,
- निर्वाचन प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्छ, जसले जनसंख्या र भूगोललाई मुख्य आधार मानी क्षेत्र निर्धारण गर्छ,
- निर्वाचन क्षेत्रको पुनरावलोकन प्रत्येक २० वर्षमा गर्ने संवैधानिक व्यवस्था,
समावेशिताको व्यवस्था:
- समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्द सूची बुझाउँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त अपनाउनुपर्छ,
- संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने अनिवार्य व्यवस्था,