Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

सङ्गठनमा विविधता व्यवस्थापन : विषयगत प्रश्नोत्तर (१७ पुस २०८१, बुधबार)

  • Ajnabee Khadka
  • January 01, 2025
  • 452

सङ्गठनमा विविधता व्यवस्थापन : विषयगत प्रश्नोत्तर (१७ पुस २०८१, बुधबार)

सङ्गठनमा विविधता व्यवस्थापन : विषयगत प्रश्नोत्तर (१७ पुस २०८१, बुधबार)

१.  सङ्गठनमा विविधता व्यवस्थापनको महत्व उल्लेख गरी विविधता व्यवस्थानबाट सङ्गठनको प्रभावकारिता हासिल गर्न सङ्गठन तहमा के गर्नु पर्ला ? मौलिक उत्तर प्रस्तुत गर्नुहोस् ।

 विविधता व्यवस्थापन एक बृहत् अवधारणा हो । यसलाई मूलतः बृहत् राजनीतिक एवं सामाजिक तहमा र सङ्गठनको तहमा गरी दुई तहबाट अध्ययन गर्ने गरेको पाइन्छ । सङ्गठनमा उपलब्ध जनशक्तिमा विद्यमान विविधताबाट लाभ लिन सङ्गठनले अपनाउने व्यवस्थापकीय रणनीतिका रूपमा सङ्गठन तहको विविधता व्यवस्थापनलाई बुझ्न सकिन्छ । सङ्गठनले उपलब्ध जनशक्तिमा रहेका फरक पृष्ठभूमि, ज्ञान, सिप र क्षमता पहिचान र उपयोग गरी सङ्गठनको प्रभावकारिता अभिवृद्धि गर्न सक्छन् । आफ्नो सेवा क्षेत्रभित्रका समुदाय वा समाजको विविधता अनुकूल सेवा प्रवाह रणनीति विकास गरी समाजमा सकारात्मक प्रभाव पार्न सक्छन् । विविधताले सधैँ सकारात्मक नतिजा मात्र नदिने हुँदा यसका नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने र सकारात्मक लाभहरू बढाउँदै जाने व्यवस्थापकीय कार्यको रूपमा पनि विविधता व्यवस्थापनलाई लिन सकिन्छ । 

सङ्गठनमा विविधता व्यवस्थापनको महत्व :

– परिपक्व एवं कार्यान्वयनयोग्य नीति निर्माण गर्न, 

– सिर्जनात्मकता र नवप्रवर्तनको प्रयोगबाट सेवा प्रवाहमा सुधार गर्न,

– समावेशी र सकारात्मक कार्यवातावरण निर्माण गर्न,

– सङ्गठनको उद्देश्यप्रति कर्मचारीको साझा प्रतिबद्धता प्राप्त गर्न,

– कर्मचारीहरू बिचमा विविधता बुझ्ने र सम्मान गर्ने बानीको विकास गर्न, 

– सङ्गठनप्रतिको आमकर्मचारीको दृष्टिकोण सकारात्मक बनाई अपनत्व विकास गर्न, 

– कर्मचारीको मनोबल र कार्यदक्षता वृद्धि गर्न,

– सङ्गठनमा कर्मचारी टिकाउ दर बढाउन,

– कर्मचारी र सेवाग्राही दुवैको सन्तुष्टि अभिवृद्धि गर्न,

– सङ्गठनप्रतिको नागरिक विश्वास र भरोसा अभिवृद्धि गर्न,

– सङ्गठनमा विविधता व्यवस्थापनका उपाय : 

– सङ्गठनको नीति, रणनीति, मूल्य मान्यता एवं निर्देशक सिद्धान्तको रूपमा विविधता र समावेशितालाई आत्मसात् गर्ने,

– समवेशिता र समताप्रति नेतृत्वबाट दृढ प्रतिबद्धता व्यक्त गर्ने र विविधताको विषयमा खुला छलफल चलाउने,

– विद्यमान पूर्वाग्रह हटाउने,

– विविधतापूर्ण कार्यस्थल र कार्यसंस्कृति निर्माण गर्ने,

– कर्मचारीको सक्षमता मापन गरी उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा पदस्थापन गर्ने,

– विविधता सर्वेक्षण गरी कर्मचारीको व्यक्तिगत विवरणसहितको अभिलेख तयार गर्ने र आवश्यकता अनुसार सङ्गठनमा प्रयोग गर्ने,

– कर्मचारीलाई मानव अधिकार र मानवीय मूल्यद्वारा प्रशिक्षित गर्ने,

– तालिम केन्द्रमा विविधता व्यवस्थापनसम्बन्धी तालिम सामग्री विकास गरी तालिम प्रदान गर्ने,

– कर्मचारीमा संवेगात्मक बौद्धिकताको विकास गर्ने,

– धार्मिक विविधता सम्बोधन गर्न प्रार्थना कक्ष स्थापना तथा धार्मिक पर्वमा स्थानीय बिदा घोषणा गर्ने,

– लैङ्गिक विविधता सम्बोधन गर्न खुला छलफल र बहस चलाउने,

– सांस्कृतिक विविधता सम्बोधन गर्न सांस्कृतिक रूपमा सक्षम कर्मचारीतन्त्रको अवधारणा कार्यान्वयन गर्ने, 

– भाषिक विविधता सम्बोधन गर्न बहुभाषिक नीति तथा कार्यक्रम लागु गर्ने,

– स्थानीय भाषामा नागरिक बडापत्र, 

– भाषा अनुवादकको व्यवस्था, 

– कार्यालयको अग्रपङ्क्तिमा बहुभाषिक सिप भएका कमर्चारी खटाउने,

– कार्यालयको भौतिक संरचनामा सुधार गरी सेवाग्राहीका विविधतापूर्ण शारीरिक अवस्थालाई सम्बोधन गर्ने,

– ज्ञान हस्तान्तरण गर्न असल अभ्यास आदानप्रदान गर्ने कार्यशाला आयोजना गर्ने,

– कार्यालयमा गठन हुने कार्यदल, समिति, कार्य समूहमा समावेशितालाई आत्मसात् गर्ने,

– समुदायसँग सहकार्य गर्ने, 

– नीति पैरवी समूह गठन गरी नीति निर्माणमा सहभागी गराउने ।

– अन्त्यमा सङ्गठनको प्रभावकारिताका लागि विविधता व्यवस्थापन अनिवार्य छ । विविधताबाट लाभ लिने सङ्गठन नै कार्यसम्पादनमा अब्बल र प्रतिस्पर्धामा सफल हुने हक राख्छन् ।

 

२. नेपालमा निजामती कर्मचारीबाट उच्चस्तरको कार्यसम्पादन नतिजा हासिल गर्न विद्यमान निजामती सेवा ऐन र नियमावलीले गरेका मुख्य मुख्य प्रबन्धको विश्लेषण गर्नुहोस् ।

 सरकारका नीति तथा कार्यक्रम र योजना कार्यान्वयन गरी नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन गठन गरिएको संयन्त्र नै निजामती सेवा हो । यो सरकार मातहत रहन्छ र सरकारको कार्यसम्पादनमा सहयोग गर्छ । स्वच्छ, सक्षम, निष्पक्ष र पारदर्शी निजामती सेवाले मात्र सरकारी नीतिहरूको निष्पक्ष कार्यान्वयन गरी अपेक्षित नतिजा ल्याउन सक्छ । विद्यमान निजामती सेवा ऐन र नियमावलीमा निजामती कर्मचारीबाट उच्चस्तरको कार्यसम्पादन नतिजा हासिल गर्न थुप्रै व्यवस्था गरिएको छ । केही प्रमुख व्यवस्था यस प्रकार छन् । 

क)  प्रतिस्पर्धात्मक पदपूर्ति र विविधतापूर्ण जनशक्ति :

– आन्तरिक र खुला प्रतियोगिताबाट जनशक्ति आपूर्ति हुने,

– प्रतिस्पर्धाका कारण सेवामा अब्बल जनशक्ति भित्रिने अपेक्षा,

– बढुवाको व्यवस्थाबाट अनुभवी कर्मचारी आपूर्ति हुने,

– खुला प्रतिस्पर्धामा आरक्षणको व्यवस्थाबाट निजामती सेवामा विविधता बढ्ने,

– विविधतापूर्ण जनशक्तिका कारण सङ्गठनको कार्यसम्पादनस्तर सुधार हुने अपेक्षा,

ख)  कार्यविवरण र कार्यसम्पादन मूल्याङ्कन :

– पदस्थापन पत्रसँगै कार्यविवरण र सोबमोजिमको मूल्याङ्कन गर्ने सूचकाङ्क उपलब्ध गराउने,

– कार्यविविरणमा मूल्याङ्कन गर्ने सकिने वस्तुगत आधार उल्लेख गर्ने, सुपरीवेक्षकले कार्यविविरणका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने, 

– कार्यविविरण लागु भए नभएको अनुगमन हुने, 

– कार्यविवरण लागु नगर्नेलाई सचेत गराउने र थप विभागीय कारबाही गर्ने, 

– राजपत्राङ्कित कर्मचारीले कार्यविवरण अनुसार गर्नुपर्ने कार्यको वार्षिक कार्ययोजना बनाई पहिलो चौमासिक भित्र कार्यालय प्रमुखबाट स्वीकृत गराई कार्यसम्पादन गर्ने,

– कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको महत्वपूर्ण आधार बनाइएको,

ग)  व्यवस्थापन परीक्षण :

– व्यवस्थापन परीक्षण, सोको प्रतिवेदन र प्रतिवेदन कार्यान्वयन गर्ने दायित्व निर्धारण, 

– प्रशासनिक अनियमितता फस्र्योट नगर्दा विभागीय कारबाही हुने व्यवस्था,

घ)  कार्यसम्पादन सम्झौता :

– कार्यसम्पादन सम्झौता गरी पदस्थापन वा सरुवा गर्न सकिने,

– कार्यसम्पादन सम्झौतामा खुलाउनुपर्ने विषयहरू निर्धारण,

– कार्यसम्पादनको सम्झौता अनुसार कार्य भए नभएको सम्बन्धमा विभाग वा मन्त्रालयबाट अनुगमन हुने,

– कार्यसम्पादन सम्झौताबमोजिमको कामको वार्षिक समीक्षा हुने,

– कार्यसम्पादन सम्झौताबमोजिम उत्तम स्तरको कार्यसम्पादन गर्न नसक्ने कार्यालय वा आयोजना वा विभागीय प्रमुखलाई दुई वर्षसम्म कुनै पनि प्रमुख पदको विशेष जिम्मेवारी नदिने र विभागीय कारबाही हुने, 

ङ)  सरुवा व्यवस्थापन :

– आर्थिक वर्षको सुरुमा नै कार्यतालिकाबमोजिम सरुवा व्यवस्थित गरिने,

– सरुवाका आधार, अवधि र कार्यविधि निर्धारण, 

– सामान्यतयाः अवधि नपुगिकन सरुवा नहुने,

– सरुवा हुने कर्मचारीले कार्य प्रतिवेदन बुझाउनुपर्ने, 

– सरुवा हुँदा प्रतिवेदन नबुझाउने कर्मचारीलाई विभागीय कारबाही हुने,

च)  नेतृत्व मूल्याङ्कन :

– राजपत्राङ्कित विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीको नेतृत्व मूल्याङ्कन हुने,

– नेतृत्व मूल्याङ्कनका आधार निर्धारण,

– नेतृत्व मूल्याङ्कनका लागि गोप्य रूपमा सूचना सङ्कलन गर्न सकिने,

– नेतृत्व मूल्याङ्कन प्रतिवेदनलाई सरुवा, बढुवा र पदस्थापनमा आधार मान्न सक्ने,

छ)  विभागीय कारबाही :

– विभागीय सजायका प्रकार र सजाय गर्ने आधारहरू निर्धारण,

– विभागीय सजाय हुने व्यवस्थाका कारण कर्मचारी आचरण र अनुशासनमा रही उच्च कार्यसम्पादन नतिजा हासिल गर्न तयार हुने अपेक्षा, 

ज)  मौद्रिक एवं गैरमौद्रिक सुविधा तथा कार्य सम्पादन प्रोत्साहन कोषको व्यवस्था :

– पकाएको तलब मासिक रूपमा भुक्तान हुने,

– तलव भत्ता पुनरवलोकन हुने,

– सेवाको सुरक्षा,

– सरुवा र बढुवाका अवसर प्रदान,

– अध्ययन, तालिम, अध्ययन भ्रमणको अवसर प्रदान गरी कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने व्यवस्था,

– निजामती कर्मचारीलाई तीन वर्षमा कम्तीमा एक पटक पाँच कार्य दिन वा बढीको तालिम दिनुपर्ने व्यवस्था, 

– कार्य दक्षता सीमा पार गरेको मानिने व्यवस्था,

– कार्यसम्पादन, कार्य परिणाम र प्राप्त नतिजाको आधारमा कर्मचारीलाई प्रोत्साहन गर्न कार्यसम्पादन कोषको प्रबन्ध,

झ)  पुरस्कारको व्यवस्था :

– वार्षिक रूपमा कार्यसम्पादनमा अब्बल कर्मचारी छनोट गरी पुरस्कृत गर्न सकिने,

निजामती सेवा पुरस्कारको व्यवस्था,

ञ)  निजामती कर्मचारीका नैतिक दायित्व र आचरण निर्धारण गरी कर्मचारीलाई कार्यसम्पादनप्रति जिम्मेवार बनाइएको,

ट)  नतिजामूलक कार्यतालिका बनाउनुपर्ने :

– कार्यालय प्रमुख वा विभागीय प्रमुखले प्रत्येक पदका लागि तोकिएको काम, कर्तव्य र जिम्मेवारीका आधारमा आफू मातहतका सबै कर्मचारीको कार्य विभाजन स्पष्ट खुल्ने गरी वार्षिक कार्यतालिका बनाउनुपर्ने ।

ठ)  सामूहिक सौदाबाजीको व्यवस्था र ट्रेड युनियनको अधिकारको प्रदान ।

– माथि उल्लिखित व्यवस्थाका अतिरिक्त अन्य थुप्रै प्रबन्ध हुँदाहुँदै पनि निजामती कर्मचारीको कार्यसम्पादन अपेक्षाकृत हुन सकेको छैन । नेपालको निजामती सेवा समक्ष हुँदाहुँदै पनि कार्यसम्पादनस्तर कमजोर रहेको छ भनी आलोचना हुँदै आएको छ । कानुनी प्रबन्धको प्रभावकारी कार्यान्वयन नहुनुमा राजनीतिक र प्रशासनिक पक्ष नै बढी जिम्मेवार छन् । प्रशासनिक नेतृत्व कानुनी व्यवस्थाको कार्यान्वयनप्रति उदासीन हुने, प्रशासनिक नेतृत्व उपर दबाब र प्रभावहरू पर्ने, निजामती कर्मचारीहरू आत्मकेन्द्रित र अधिकारमुखी बढी तथा जिम्मेवार र जवाफदेही कम हुने, जनताप्रति निजामती कर्मचारीको घुमाउरो उत्तरदायित्व रहने, नागरिक सशक्तीकरणको कमजोर अवस्थालगायतका कारणबाट कानुनी प्रबन्धको कार्यान्वयनस्तर कमजोर देखिएको छ । प्रशासनिक विकृतिको बोझले थिचिएको निजामती सेवालाई कार्यसम्पादनमा अब्बल गराउन राजनीति र प्रशासनभन्दा बाहिर रहेको नागरिक समाजको भूमिकालाई सशक्त बनाउन जरुरी आवश्यक देखिन्छ ।

 

३.  सङ्घीय शासन व्यवस्थालाई प्रभावकारी बनाउन सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई गर्नुपर्ने सहयोगका सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनले उल्लेख गरेका व्यवस्था प्रस्तुत गर्नुहोस् । 

 नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा जिम्मेवारी निर्धारण गरेको छ । यी जिम्मेवारीहरू सहकारिता, सहअस्तित्व, समन्वय र परस्पर सहयोगको सिद्धान्तमा आधारित रही सम्पादन गर्नुपर्ने हुन्छ । संविधानको धारा २३२ (८) बमोजिम नेपाल सरकारले आफैँ वा प्रदेश सरकारमार्फत गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई संविधान र सङ्घीय कानुनबमोजिम आवश्यक सहयोग गर्न सक्ने र निर्देशन दिन सक्ने व्यवस्था गरेको छ । त्यसरी प्राप्त निर्देशनको पालना गर्नु गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कर्तव्य हुने व्यवस्था छ । 

– स्थानीय सरकार सञ्चालन ऐनले नेपाल सरकार र प्रदेश सरकारले स्थानीय सरकारलाई देहायका विषयमा सहयोग गर्नुपर्ने भनी उल्लेख गरेको छ ।

– गाउँपालिका तथा नगरपालिकाको वार्षिक योजना तथा बजेट तर्जुमा सुरु हुनुअगावै बजेट सीमा र राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता एवं मापदण्ड सहितको मार्गदर्शन उपलब्ध गराउने,

– स्थानीय तहको क्षेत्राधिकारमा पर्ने समानान्तर संरचना खारेज गरी गाउँपालिका र नगरपालिकाको विषयगत शाखाको क्षमता विकास गर्ने,

– विषयगत मन्त्रालयले आफ्नो अधिकार क्षेत्र अन्तर्गतका आयोजना सञ्चालन गर्दा सम्बन्धित गाउँपालिका तथा नगरपालिकासँग समन्वय गर्ने, नेपाल सरकार र प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने कुनै आयोजनामा लागत प्रभावकारिता र दिगोपनासमेत विचार गरी गाउँपालिका तथा नगरपालिकाबाट कार्यान्वयन गराउने र त्यसका लागि स्रोतसाधनको हस्तान्तरण गर्ने,

– नेपाल सरकारले नमुना कानुनको ढाँचा निर्माण गरी स्थानीय कानुन निर्माणमा सहयोग गर्ने,

– गाउँपालिका तथा नगरपालिकाको निर्णय कार्यान्वयनमा सहयोग गर्ने,

– गाउँपालिका तथा नगरपालिकाको सशक्तीकरणका लागि आवश्यक प्राविधिक वा व्यवस्थापकीय सहयोग उपलब्ध गराउने ।

– अन्त्यमा नेपालको सङ्घीयताको जग भनेको स्थानीय सरकार नै हुन् । सङ्घीयताको सुदृढीकरणका लागि स्थानीय सरकार सबल हुन आवश्यक छ । 

– केन्द्रीकृत सोचबाट मुक्त भई सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार र 

स्रोतसाधन सम्पन्न बनाउन तथा संस्थागत क्षमता विकास गरी स्थानीय तहलाई सेवा प्रवाह र स्थानीय विकासको सक्षम एकाइको रूपमा स्थापित गर्न जरुरी छ । 

 

४.  वनबाट प्राप्त रोयल्टी बाँडफाँटका आधार र ढाँचा प्रस्तुत गर्दै रोयल्टी रकम उपयोगका सम्भावित क्षेत्र उल्लेख गर्नुहोस् । 

 वन क्षेत्रको रोयल्टी राष्ट्रिय वन र संरक्षित क्षेत्रबाट प्राप्त हुने गर्छ । राष्ट्रिय वनको परिचालन तथा व्यवस्थापन प्रदेश सरकार र संरक्षित क्षेत्रको सञ्चालन एवं व्यवस्थापन नेपाल सरकारबाट हुने गरेको छ । प्राकृतिको स्रोतको परिचालन गर्दा राष्ट्रिय वनबाट प्राप्त हुने रोयल्टी प्रदेश सरकार र संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टी सङ्घ सरकारबाट सङ्कलन भई सङ्घीय विभाज्य कोषमा जम्मा हुँदै आएको छ । वन रोयल्टी तीन तहका सरकारमा बाँडफाँट हुने कानुनी व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्धारण गरिएका आधार र ढाँचाबमोजिम हिस्सा यकिन गरी सम्बन्धित तहमा यसको बाँडफाँट हुने गरेको छ । आयोगबाट निर्धारित आधार र ढाँचा यस प्रकार छ ।

क)  राष्ट्रिय वनबाट प्राप्त रोयल्टीको बाँडफाँट : 

अ)  वनको अवस्थिति (वन रहेको स्थानीय तह) – २० प्रतिशत

आ) वनको क्षेत्रफल (स्थानीय तहमा रहेको वनको क्षेत्रफल) – ४० प्रतिशत

इ)  स्थानीय तहको जनसङ्ख्या – २० प्रतिशत

ई)  वनमा आश्रित जनजङ्ख्या – १० प्रतिशत

उ)  वनको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता– १० प्रतिशत

ख)  संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टीको बाँडफाँट : 

अ)  स्थानीय तहमा मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रको अवस्थिति – १० प्रतिशत

आ)  मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रमा पर्ने स्थानीय तहको क्षेत्रफल – ४० प्रतिशत

इ)  मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रमा पर्ने स्थानीय तहको जनसङख्या – ३५ प्रतिशत

ई)  मध्यवर्ती क्षेत्र/ संरक्षण क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता– १५ प्रतिशत

वनबाट प्राप्त रोयल्टी उपयोगका क्षेत्र :

– नाङ्गा डाँडा, खाली जग्गा, आगलागी एवं पहिरोबाट क्षति पुगेको वनमा वृक्षारोपण गर्न एवं हरियाली प्रवर्धनसम्बन्धी कार्य गर्न,

– अग्नि नियन्त्रण रेखा निर्माणसम्बन्धी कार्य गर्न,

– पहिरो नियन्त्रण कार्य गर्न,

– जलाधार क्षेत्र संरक्षण कार्य गर्न,

– दिगो वन व्यवस्थापनसम्बन्धी कार्य गर्न,

– वन्यजन्तु र मानवबिचको द्वन्द्व व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्न,

– वन्यजन्तुबाट भएको मानवीय एवं बालीनालीको क्षतिका लागि राहत तथा क्षतिपूर्ति प्रदान गर्न,

– संरक्षित क्षेत्रभित्र आवश्यक पूर्वाधार निर्माण एवं मर्मतसम्भार गर्न,

– जैविक विविधता, वन्यजन्तु र तिनको वासस्थान तथा दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण तथा व्यवस्थापन गर्न,

– जडीबुटी खेती तथा हरित एवं गैरकाष्ठ उद्यम प्रवर्धन गर्न,

– मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्न,

– वन पैदावारको संरक्षण एवं दिगो उपयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,

– पर्यापर्यटन प्रवर्धनसम्बन्धी कार्य गर्न,

– प्राकृतिक सम्पदाको अभिलेखीकरण गर्न,

– वन पैदावारको अवैध चोरी निकासी नियन्त्रणसम्बन्धी कार्य गर्न,

– यसरी वनबाट प्राप्त रोयल्टीलाई वन क्षेत्रको विस्तार, संरक्षण, व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्नका लागि उपयोग गर्न सकिन्छ । सङ्घ, प्रदेश र स्थानीय तहले आयोगको सुझावबमोजिम रोयल्टी रकम खर्च गरी प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिनु पर्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा  

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 115
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 65
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA