नेपालको अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्र उच्च सम्भावनायुक्त क्षेत्र हो । नेपाल प्राकृतिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस्ता स्थान र सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र विविधीकरण गरी पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने नीति नेपालको संविधानले अंगीकार गरेको छ । पर्यटन प्रवर्द्धनमार्फत रोजगारीको अवसर वृद्धि गरी, गरिबी निवारण र जनजीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्वपूर्ण योगदान रहने भएकाले, नेपाली अर्थतन्त्रमा पर्यटनलाई प्रमुख संवाहकका रूपमा लिइएको छ । छिमेकी मुलुकहरूमा भइरहेको उच्च आर्थिक वृद्धि र विशाल जनसंख्याबाट सिर्जित अवसरका कारण नेपालमा पर्यटन आगमन तीव्र गतिमा बढ्ने प्रबल सम्भावना देखिएको छ । यसबाट ठूलो रोजगार सिर्जना भई राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ। त्यसका लागि पर्यटकीय गन्तव्यहरूको विविधीकरण, पहिचान र पूर्वाधार विकास आवश्यक छ, जसले रोजगारीका अवसर बढाई गरिबी न्यूनीकरण र जनजीवनस्तर सुधार गर्न सहयोग पुर्याउँछ । तर, पर्यटन विकासमा केही चुनौतीहरू पनि छन् — जस्तै, पर्यटन उपज र क्रियाकलापको अपेक्षित विकास र विविधीकरण नहुनु, अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त प्रवर्द्धन नहुनु, पर्यटन पूर्वाधारको कमी, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा कमजोरी, निजी क्षेत्रको अपर्याप्त सहभागिता, उद्यमशीलता विकासमा जोड नदिनु, पर्यटनबाट प्राप्त लाभको न्यायोचित वितरण नहुनु, र पर्यटन गतिविधि प्रविधिमैत्री नहुनु । कोभिड–१९ महामारीपछि कमजोर बनेको पर्यटन क्षेत्र अहिले पुनः पुरानै अवस्थातर्फ फर्किएको छ। पछिल्लो समय पर्यटन पुनरुत्थान हुँदै गएसँगै होटल व्यवसाय फस्टाइरहेको छ र पर्यटकबाट प्राप्त आम्दानी पनि क्रमशः बढ्दै गएको छ ।
पर्यटन तथ्याङ्क (२०८१ पुससम्म):
-
२०८० पुससम्म नेपालमा १० लाख १४ हजार ८८२ पर्यटक आएका थिए।
-
२०८१ पुससम्म यो सङ्ख्या १३ प्रतिशतले बढेर ११ लाख ४७ हजार ५४८ पुगेको छ।
-
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार सन् २०२३ मा भ्रमण आय रु. ७२ अर्ब ४५ करोड ५६ लाख थियो, जुन सन् २०२४ मा १५ प्रतिशतले वृद्धि भई रु. ८३ अर्ब ३९ करोड ४० लाख पुगेको छ ।
सन् २०२४ मा:
-
पर्यटकको औसत बसाइ अवधि १३.३ दिन रहेको छ (सन् २०२३ मा १३.२ दिन)।
-
प्रतिपर्यटक औसत दैनिक खर्च ४०.८ अमेरिकी डलर (सन् २०२३ मा ४१ डलर)।
भ्रमणका उद्देश्यहरू:
-
६०.४% — बिदा, मनोरञ्जन वा यात्राका लागि
-
१५.३% — तीर्थयात्राका लागि
-
१४.५% — पर्वतारोहण वा साहसिक यात्राका लागि
-
९.८% — अन्य उद्देश्यका लागि
पर्यटक आगमन मुलुक अनुसार (सन् २०२४):
-
भारत — २७.७०%
-
अमेरिका — ९.६७%
-
चीन — ८.८९%
-
बेलायत — ४.७९%
-
बंगलादेश — ४.२७%
-
अस्ट्रेलिया — ३.८३%
-
श्रीलंका — २.७०%
-
थाइल्यान्ड — २.६१%
-
जर्मनी — २.६१%
-
दक्षिण कोरिया — २.३५%
-
अन्य देशहरू — ३०.५७%
संघीय संरचनाअनुसार तीन तहका सरकारहरूले पर्यटन क्षेत्रका भौतिक पूर्वाधार निर्माण, पर्यटन उपजको विविधीकरण, गन्तव्यहरूको पहिचान र प्रचार–प्रसारमा जोड दिनुपर्छ। अधिकांश पर्यटक विमानमार्गबाट नेपाल प्रवेश गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्वाधार सुदृढ गर्न आवश्यक छ । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, शान्त वातावरण, आध्यात्मिकता, प्राचीन दर्शन, र जैविक विविधताका कारण नेपाललाई विश्वकै प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गरी आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउन सकिन्छ ।