Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

सूचना प्रविधि न्यायाधिकरणको कार्य : विषयगत प्रश्नोत्तर (१३ फागुन २०८२, बुधबार)

  • Ajnabee Khadka
  • February 25, 2026
  • 232

सूचना प्रविधि न्यायाधिकरणको कार्य : विषयगत प्रश्नोत्तर (१३ फागुन २०८२, बुधबार)

Work of the Information Technology Tribunal: Topical Q&A (Wednesday, February 13, 2005)

१.  सूचना प्रविधि न्यायाधिकरणको गठन र यसको कार्यक्षेत्र सम्बन्धमा के कस्तो कानुनी व्यवस्था रहेको छ ? सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् । 

 विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० मा सूचना प्रविधि न्यायाधिकरणको गठनसम्बन्धी व्यवस्था रहेको छ । कम्प्युटरसम्बन्धी कसुरको सुरु कारबाही र किनारा गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको योग्यता पुगेका व्यक्तिबाट कानुन सदस्य, सूचना प्रविधि सदस्य र वाणिज्य सदस्य रहने गरी तीन सदस्यीय सूचना प्रविधि न्यायाधिकरणको गठन गर्छ । कानुन सदस्य न्यायाधिकरणको अध्यक्ष हुने प्रावधान छ । न्यायाधिकरणले गरेको निर्णय वा आदेशउपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय वा आदेश भएको मितिले पैँतिस दिनभित्र पुनरावेदन न्यायाधिकरणमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ । नेपालमा हालसम्म सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरण गठन हुन सकेको छैन । सूचना प्रविधि न्यायाधिकरण गठन भई नसकेकाले उल्लिखित कसुरको सुरु कारबाही र किनारा गर्ने कार्य सम्बन्धित जिल्ला अदालतबाट हुँदै आएको छ । न्यायाधिकरणका सदस्यको योग्यता देहायबमोजिम रहेको छ :

क)  कानुन सदस्य :

– सूचना प्रविधि विषयमा ज्ञान भएको,

– जिल्ला अदालतको न्यायाधीश भइरहेको, भइसकेको वा हुन योग्यता पुगेको व्यक्ति । 

ख)  सूचना प्रविधि सदस्य :

– कम्प्युटर विज्ञान वा सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरेको,

– विद्युतीय कारोबार, सूचना प्रविधि वा विद्युतीय सञ्चारको क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभवप्राप्त गरेको नेपाली नागरिक । 

ग)  वाणिज्य सदस्य :

– व्यवस्थापन वा वाणिज्यशास्त्रमा कम्तीमा स्नातकोत्तर गरेको,

– विद्युतीय कारोबारको क्षेत्रमा विशेषज्ञता हासिल गरी कम्तीमा तीन वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक । 

सूचना प्रविधि न्यायाधिकरणको क्षेत्राधिकार :

– सूचना प्रविधि न्यायाधिकरणलाई ऐनको परिच्छेद ९ मा उल्लेख भएका कम्प्युटरसम्बन्धी कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार प्रदान गरिएको छ । यी कसुरलाई सङ्क्षिप्तमा यस प्रकार उल्लेख गर्न सकिन्छ :

– कम्प्युटर स्रोत सङ्केतको चोरी, नष्ट वा परिवर्तन गर्ने,

– कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच प्राप्त गर्ने,

– कम्प्युटर र सूचना प्रणालीमा क्षति पु¥याउने,

– विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने,

– गोपनीयता भङ्ग गर्ने,

– झुटा व्यहोराको सूचना दिने,

– झुटा इजाजतपत्र वा प्रमाणपत्र पेस गर्ने वा देखाउने,

– तोकिएका विवरण वा कागजात दाखिला नगर्ने,

– कम्प्युटर जालसाजी गर्ने,

– कम्प्युटरसम्बन्धी कसुर गर्न दुरुत्साहन गर्ने,

– ऐनबमोजिमका कसुर गर्न मतियार भई सहयोग गर्ने ।

– अन्त्यमा सूचना प्रविधिको तीव्र विकाससँगै यसको दुरुपयोग गरी लाभ लिने प्रवृत्ति पनि बढ्दै गएको छ । यस क्षेत्रमा पूर्वानुमान नगरिएका नवीन प्रकृतिका कसुर तीव्र रूपमा देखापर्ने गरेका छन् । यसले सूचना प्रविधिजन्य अपराधको अनुसन्धान, अभियोजन तथा न्याय सम्पादनमा चुनौती खडा गरेको छ । सूचना प्रविधिको माध्यमबाट हुने अपराधको नियन्त्रण गरी सूचना प्रविधि क्षेत्रलाई सुरक्षित र भरपर्दो क्षेत्रको रूपमा विकास गर्न सरकारले कानुनी सुधारका साथै सूचना प्रविधि न्यायाधिकरणलगायतका विशिष्टीकृत संरचना तयार गर्न अग्रसर हुनुपर्ने आवश्यकता बोध गरिएको छ । 

२.  नेपालको तीन तहको सङ्घीय संरचनामा तहगत समन्वय र अन्तरसम्बन्धलाई बलियो बनाउन स्थानीय तहले आफ्नो एकल वा साझा अधिकारको विषयमा नीति वा कानुन बनाउँदा विचार पु¥याउनुपर्ने कुरा उल्लेख गर्नुहोस् । साथै नेपाल सरकारले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र परामर्श गर्ने विषयसमेत प्रस्तुत गर्नुहोस् ।

 नेपालको संविधानले नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र यी तीन तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भनी उल्लेख गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ ले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्धका आधार निर्धारण गर्नुका साथै तहगत समन्वय र अन्तरसम्बन्धलाई बलियो बनाउने सम्बन्धमा महìवपूर्ण प्रबन्ध गरेको छ । एकल वा साझा अधिकारका विषयमा नीति तथा कानुन तर्जुमा र कार्यान्वयनका विषयलाई स्पष्ट गरिएको छ । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय र परामर्श गर्ने विषयसमेत उल्लेख गरी तहगत समन्वय र अन्तरसम्बन्धलाई बलियो बनाउन जोड दिइएको छ ।

स्थानीय तहले आफ्नो एकल वा साझा अधिकारको विषयमा नीति वा कानुन बनाउँदा विचार पु¥याउनुपर्ने कुरा यसप्रकार छन् :

– सङ्घ वा प्रदेशको एकल अधिकारको अतिक्रमण नगर्ने,

– सङ्घीय र प्रदेश कानुनसँग बाझिन नहुने,

– राष्ट्रिय नीति तथा प्राथमिकता अनुकूल हुने र त्यसको कार्यान्वयनमा सघाउ पुग्ने,

– प्रदेशको नीति तथा प्राथमिकता अनुकूल हुने र त्यसको कार्यान्वयनमा सघाउ पुग्ने,

– कुनै विषयको कार्यान्वयनमा दोहोरो नपर्ने ।

प्रदेश र स्थानीय तहसँग समन्वय र परामर्श :

– नेपाल सरकारले आवश्यकता अनुसार स्थानीय तह र प्रदेश सरकार दुवैसँग देहायबमोजिमका विषयमा समन्वय र परामर्श गरी कामकारबाही गर्छ ।

क)  स्थानीय तहसँग समन्वय र परामर्श गर्ने :

– स्थानीय तहले समेत पालना वा कार्यान्वयन गर्नुपर्ने गरी राष्ट्रिय योजना तथा नीति बनाउँदा,

– नेपाल सरकारले उपयुक्त ठह¥याएको अन्य विषयमा । 

ख)  प्रदेश सरकारसँग समन्वय र परामर्श गर्ने :

– संविधानको अनुसूची–७ अन्तर्गत उल्लिखित प्रदेश र सङ्घका साझा अधिकारका विषयमा नीति तथा कानुन बनाउँदा,

– दुई वा दुईभन्दा बढी प्रदेशको अनुरोधमा संविधानको अनुसूची–६ मा उल्लिखित विषयमा नीति तथा कानुन बनाउँदा,

– राष्ट्रिय महत्वका ठुला परियोजना, अन्तरप्रदेशस्तरीय परियोजना वा कार्यक्रम सञ्चालन गर्दा,

– प्रदेशले समेत पालना वा कार्यान्वयन गर्नुपर्ने गरी राष्ट्रिय योजना तथा नीति बनाउँदा,

– अन्तरप्रदेश सञ्चालन हुने राष्ट्रिय सडक, विद्युतीय प्रसारण लाइन तथा अन्तरप्रदेशस्तरीय सिँचाइ वा यस्तै प्रकृतिका योजना सञ्चालन गर्दा,

– प्रदेशको अधिकार सूचीमा पर्ने विषयमा सन्धि वा सम्झौता गर्दा,

– नेपाल सरकारले उपयुक्त ठह¥याएको अन्य विषयमा ।

ग)  स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र परामर्श गर्ने :

– संविधानको अनुसूची–९ मा उल्लिखित साझा अधिकारका विषयमा नीति तथा कानुन बनाउँदा,

– राजस्वको बाँडफाँट तथा नयाँ कर प्रणाली लागु गर्ने क्रममा सोको नीतिगत विषयमा,

– प्राकृतिक स्रोत तथा त्यसको लाभको बाँडफाँट गर्दा ।

– अन्त्यमा नेपालको सङ्घीय शासन व्यवस्थाले विकेन्द्रीकरण, समावेशी, सहभागिता र सहज सेवा प्रवाहमा जोड दिएको छ । एकात्मक शासन व्यवस्थामा नीतिनिर्माण र कार्यान्वयन सहज हुने भए पनि सङ्घीय व्यवस्थामा नीतिनिर्माणमा ढिलाइ हुने तथा क्षेत्राधिकारको अस्पष्टताको कारण तहगत सरकारबिचको सम्बन्धमा तिक्तता आउन सक्छ । प्रदेश र स्थानीय तहसँगको समन्वय र परामर्शमा नीति तथा कानुन निर्माण गर्दा अपनत्व ग्रहण हुने र कार्यान्वयनमा प्रभावकारिता आउन सक्छ । सङ्घीयताको सफल कार्यान्वयनका लागि अन्तरसरकारी समन्वय र सम्बन्ध सुमधुर बनाउन आवश्यक छ । तहगत समन्वय तथा अन्तरसम्बन्धसम्बन्धी कानुनले प्रबन्ध गरेका विधि र प्रव्रिmया अनुसार तहगत सम्बन्ध सञ्चालन गरेर सङ्घीय व्यवस्थाका उद्देश्य प्राप्तिका लागि काम गर्नु आजको आवश्यकता हो ।

३.  नेपालको परराष्ट्र नीति, २०७७ मा उल्लेख भएबमोजिम नेपालको परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्त र परराष्ट्र नीति सञ्चालनका आधार प्रस्तुत गर्नुहोस् । साथै, यस नीतिले लिएका उद्देश्यसमेत उल्लेख गर्नुहोस् ।

 परराष्ट्र नीति मुलुकको बाह्य सम्बन्ध सञ्चालनलाई निर्देशित गर्ने नीति हो । यसलाई मुलुकको आन्तरिक नीतिको विस्तारित रूप भनेर पनि बुझ्ने गरिन्छ । यस नीति मुलुकको राष्ट्रिय हितको रक्षा, संवर्धन र प्रवर्धनमा केन्द्रित रहन्छ । परराष्ट्र नीति, २०७७ मा उल्लेख भएबमोजिम नेपालको परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्त र परराष्ट्र नीति सञ्चालनका आधार यस प्रकार छन् :

क)  परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्त तथा मान्यता :

– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं राष्ट्रिय सम्मान र प्रतिष्ठाको अभिवृद्धि,

– सार्वभौमिक समानता,

– पञ्चशीलका सिद्धान्त,

– संयुक्त राष्ट्रसङ्घको बडापत्रको भावना,

– असंलग्नता,

– पारस्परिक सम्मान र लाभ,

– अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यता,

– विवादको शान्तिपूर्ण समाधान,

– अन्तर्राष्ट्रिय सहयोग,

– न्याय, समानता र जवाफदेहिता,

– पारस्परिक मित्रता, सहयोग र सहकार्य,

– लोकतन्त्र, मानव अधिकार र विधिको शासन,

– आर्थिक समुन्नति र समृद्धि,

– पर्यावरणीय सन्तुलन, मानव जीवनको सुरक्षा र पृथ्वीको संरक्षण ।

ख)  परराष्ट्र नीति सञ्चालनका आधार :

– नेपालको संविधान,

– प्रचलित नेपाल कानुन,

– परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय सुरक्षा नीति तथा अन्य नीति,

– नेपाल सरकारका क्षेत्रगत नीति, आवधिक योजना र वार्षिक नीति तथा कार्यक्रम,

– संयुक्त राष्ट्रसङ्घको बडापत्र,

– नेपाल पक्ष भएका सन्धि, सम्झौता तथा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय प्रतिबद्धता/घोषणापत्र,

– नेपाल सदस्य रहेका क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनका बडापत्र/गठन विधान,

– कूटनीतिक तथा कन्सुलर सम्बन्ध विषयक भियना महासन्धिलगायत अन्तर्राष्ट्रिय कानुन, प्रचलन, अभ्यास तथा स्थापित मूल्य मान्यता ।

परराष्ट्र नीति, २०७७ का उद्देश्य :

नेपालको राष्ट्रिय हितको प्रवर्धन र प्रतिष्ठा अभिवृद्धिका लागि परराष्ट्र नीतिले लिएका उद्देश्य यस प्रकार छन् :

– छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्नु,

– अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्धन गर्नु,

– विश्वशान्ति स्थापना, निःशस्त्रीकरण, मानव अधिकारको संरक्षण र प्रवर्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनीकरण, महामारी नियन्त्रण, आतङ्कवाद र साइबर अपराध नियन्त्रण, सुरक्षित आप्रवासन र भूपरिवेष्टित राष्ट्रका अधिकार प्राप्तिका लागि बहुपक्षीय मञ्चमा प्रभावकारी भूमिका निर्वाह गर्नु,

– विधिमा आधारित न्यायपूर्ण, समावेशी र निष्पक्ष विश्वव्यवस्था निर्माणका लागि सहकार्य गर्नु,

– क्षेत्रीय सहयोग, शान्ति र सहकार्यलाई प्रवर्धन गर्नु,

– आर्थिक कूटनीतिको सञ्चालनद्वारा मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पु¥याउनु,

– विदेशमा पेसा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानुनी व्यक्तिको हितको संरक्षण गर्नु,

– नेपालको विशिष्ट प्राकृतिक सौन्दर्य, मौलिक एवं समृद्ध सभ्यता, संस्कृति, जीवन पद्धति, विविधता, चिन्तनधारा, कला, भाषा, साहित्य र खेलकुदको माध्यमबाट नेपालको सफ्ट पावरलाई प्रवर्धन गर्नु ।

– अन्त्यमा मुलुकको हितका लागि गरिने कूटनीतिक प्रयास, वार्ता तथा सम्झौताका लागि परराष्ट्र नीति मार्गदर्शक दस्ताबेजको रूपमा रहन्छ । राष्ट्रिय हितका आधारभूत विषय परराष्ट्र नीतिका स्थायी पक्षको रूपमा रहेका हुन्छन् । यी विषय नेपालको संविधानमा समेत उल्लेख गरिएको छ । भूराजनीतिक परिस्थितमा आउने फेरबदल र नयाँ शक्ति सन्तुलनले परराष्ट्र नीति प्रभावित हुन सक्छ । भूमण्डलीकृत र अनिश्चित बन्दै गएको विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा र विस्तारका लागि सन्तुलित नीतिको सुझबुझपूर्ण कार्यान्वयन आवश्यक ठानिएको छ ।

४.  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली भनेको के हो ? यस प्रणालीका फाइदा र बेफाइदा चर्चा गर्नुहोस् ।

 कुनै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई विजयी घोषणा गर्ने निर्वाचन प्रणालीलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली भनिन्छ । यो प्रणाली एक सदस्यीय निर्वाचन क्षेत्रमा लागु हुन्छ । यस प्रणालीमा सदर मतको पूर्ण बहुमत प्राप्त नभए पनि अरू उम्मेदवारभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुन्छन् । एक सदस्य निर्वाचित हुने निर्वाचन क्षेत्रमा धेरै उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा मतदाताको मत विभाजन भई बहुमत मतदाताको रोजाइ नहुँदा नहुँदै पनि उम्मेदवार विजयी हुने अवस्था सिर्जना हुन्छ । नेपालमा प्रतिनिधि सभाका १६५ सदस्य र प्रदेश सभाका कुल सदस्यमध्ये ६० प्रतिशत सदस्यको निर्वाचन यसै निर्वाचन प्रणालीबाट गरिन्छ । साथै स्थानीय तहमा अधिकांश पदाधिकारीको निर्वाचन पनि यसै प्रणालीबाट गरिन्छ । यस प्रणालीका फाइदा र बेफाइदा दुवै छन् ः

क)  फाइदा :

– मतदान र मतगणना गर्न सजिलो र कम खर्चिलो हुने,

– मतगणनाको नतिजा छिटो आउने,

– उम्मेदवार र मतदाताबिचमा प्रत्यक्ष सम्बन्ध स्थापित हुने,

– मतदाताप्रति उम्मेदवार प्रत्यक्ष रूपमा उत्तरदायी रहने,

– कुनै एक दलले धेरै स्थानमा जीत हासिल गर्न सक्ने हुँदा बहुमतको स्थिर सरकार गठन हुन सक्ने,

– स्वतन्त्र उम्मेदवारले पनि निर्वाचनमा भाग लिन सक्ने,

– क्षेत्रीय र स्थानीय दलसमेत शासन प्रक्रियामा सहभागी हुन सक्ने ।

ख)  बेफाइदा :

– बहुमतको प्रतिनिधित्व नभई अल्पमतको शासन हुन सक्ने,

– बढी मत खेर जान सक्ने सम्भावना रहने,

– राजनीतिक दलले पाएको मत अनुसार स्थान प्राप्त नहुने । कम लोकप्रिय मत पाउने दलले पनि धेरै स्थानमा जीत हासिल गर्न सक्ने,

– समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न कठिनाइ हुने,

– महिला र पिछडिएका समुदायको प्रतिनिधित्व कमजोर हुने सम्भावना रहने,

– निर्वाचन प्रक्रिया खर्चिलो र भड्किलो हुने सम्भावना रहने ।

– अन्त्यमा तुलनात्मक रूपमा बढी मतदाताको रोजाइमा पर्ने उम्मेदवार विजयी हुने निर्वाचन प्रणालीको रूपमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीलाई बुझ्न सकिन्छ । यस प्रणालीमा निर्वाचित उम्मेदवार मतदाताप्रति प्रत्यक्ष रूपमा उत्तरदायी हुने अवस्था रहँदारहँदै पनि विजयी उम्मेदवारलाई बहुमत मतदाताहरूले आफ्नो प्रतिनिधिको रूपमा स्वीकार नगर्ने अवस्था रहन सक्छ । राजनीतिक स्थिरता उन्मुख प्रणाली भए पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराउने हिसाबले यो प्रणाली कमजोर देखिन्छ । यस प्रणालीमा रहेका कमीकमजोरी सम्बोधन गर्न मिश्रित निर्वाचन प्रणालीलगायत अन्य विभिन्न प्रणाली प्रयोगमा ल्याउन थालिएको छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 104
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA