Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

शक्ति सन्तुलन र नियन्त्रण : विषयगत प्रश्नोत्तर (६ चैत २०८१, बुधबार)

  • Ajnabee Khadka
  • March 20, 2025
  • 651

शक्ति सन्तुलन र नियन्त्रण : विषयगत प्रश्नोत्तर (६ चैत २०८१, बुधबार)

Balance of Power and Control: Topical Q&A (Wednesday, March 6, 2002)

शक्ति सन्तुलन र नियन्त्रण 

१. नेपालको संविधानबमोजिम सङ्घीय संसद्ले सम्पादन गर्ने कार्यहरू उल्लेख गर्दै नेपालमा कार्यपालिका र न्यायपालिकासँगको शक्ति सन्तुलन र नियन्त्रण गर्ने सन्दर्भमा सङ्घीय संसद्को भूमिका कस्तो रहेको छ ? प्रस्ट पार्नुहोस् ।

 नेपालमा प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको संसद्को संरचनालाई सङ्घीय संसद् भनिन्छ । यसलाई सङ्घीय व्यवस्थापिका पनि भनिन्छ । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार व्यवस्थापिकाको मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु हो । शक्तिको नियन्त्रण र सन्तुलनको सिद्धान्तबमोजिम संसद्लाई सरकारको कार्यकारी अङ्ग तथा न्यायिक अङ्गको शक्तिको नियन्त्रण र सन्तुलन कायम गर्ने जिम्मेवारी पनि रहेको हुन्छ । संसदीय शासन प्रणाली अवलम्बन गरेका मुलुकमा सरकार गठन र विघटनको जिम्मेवारी पनि संसद्मा रहन्छ ।

सङ्घीय संसद्का कार्यहरू :

क)  शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको कार्य :

– कानुन निर्माण गर्ने,

– कानुन संशोधन तथा परिमार्जन गर्ने,

– संविधान संशोधन गर्ने,

ख)  नियन्त्रण र सन्तुलनको सिद्धान्तबमोजिमको कार्य : 

– संसदीय सुनुवाइ गर्ने,

– संवैधानिक परिषद्मा उपस्थित भई संवैधानिक नियुक्तिमा कार्यकारीको स्वेच्छाचारिता हुन नदिने,

– महाभियोगसम्बन्धी प्रस्तावउपर निर्णय गर्ने,

– प्रधानमन्त्री माथिको अविश्वास प्रस्ताव र विश्वासको मत सम्बन्धी निर्णय गर्ने,

ग)  संसदीय शासन प्रणालीबमोजिमको कार्य :

– सरकारको गठन र विघटन,

घ)  गणतन्त्र संस्थागत गर्नेसम्बन्धी कार्य :

– राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने,

ङ)  वित्तीय उत्तरदायित्व कायम गर्ने गराउने सम्बन्धी कार्य,

– सरकारका नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरी सरकारको कामकारबाहीमा सहजीकरण गर्ने,

– बेरुजु उपर छलफल गर्ने,

– ठुला खरिद कार्यमा हुन सक्ने अनियमितताका सम्बन्धमा सरकारलाई सचेत गराउने,

च)  जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्नेसम्बन्धी कार्य

– सरकारसँग प्रश्नोत्तर गर्ने,

– सरकारका कामकारबाहीको अनुगमन गर्ने,

– नेपाल सरकार, सर्वोच्च अदालत तथा संवैधानिक निकायका वार्षिक प्रतिवेदनउपर छलफल गर्ने,

– प्रतिनिधि सभाका समितिले राष्ट्रिय मानव अधिकार आयोगबाहेकका अन्य संवैधानिक निकायका प्रतिवेदनलगायतका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी निर्देशन वा राय सल्लाह प्रदान गर्ने,

ज)  संवैधानिक पदाधिकारीलाई अनुशासित, आचरणयुक्त र जिम्मेवार बनाउनेसम्बन्धी कार्य :

– संसदीय सुनुवाइ गर्ने,

– महाअभियोग लगाउने र तत्सम्बन्धी निर्णय लिने,

झ)  राष्ट्रिय हित र सुरक्षा कायम गर्नेसम्बन्धी कार्य,

– विदेशी मुलुकसँग हुने सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्ने,

ञ)  सदनको कार्यसञ्चालन, सदनहरूबिच समन्वय तथा सचिवालय व्यवस्थापनसम्बन्धी कार्य :

– नियमावली तर्जुमा गरी कार्यसञ्चालन विधि व्यवस्थित गर्ने,

– विशेषाधिकारको प्रयोग गरी संसद्को गरिमा कायम राख्ने,

– संसदीय समितिहरूको गठन तथा सञ्चालन गर्ने,

– सदनको संयुक्त बैठक र संयुक्त समितिहरूको बैठक व्यवस्थित गर्ने,

– सदनबिच स्रोतसाधन र सूचना साझेदारी गर्ने,

– अभिलेखहरूको चुस्त व्यवस्थापन गर्ने,

– सचिवालयको प्रभावकारी व्यवस्थापन तथा सञ्चालन गर्ने,

ट)  अन्तर्राष्ट्रिय निकायसँग समन्वयको कार्य :

– अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने,

– अनुभव आदानप्रदान गर्ने,

– अन्तर्राष्ट्रियस्तरमा विकसित नवीन अवधारणा आत्मसात् गरी संसद्को प्रभावकारिता अभिवृद्धि गर्न पहल गर्ने,

ठ)  अन्य शासकीय सवालसम्बन्धी कार्य :

– जनमत सङ्ग्रहसम्बन्धी निर्णय लिने,

– प्रदेश सभासँग समन्वय र सहयोग गर्ने ।

शक्ति सन्तुलन र नियन्त्रण गर्ने सन्दर्भमा सङ्घीय संसद्को भूमिका :

– सङ्घीय व्यवस्थापिकाले सङ्घीय कार्यपालिका र न्यायपालिकाको शक्ति नियन्त्रण एवं सन्तुलन गर्ने सम्बन्धमा नेपालको संविधानले देहायबमोजिमका भूमिका निर्वाह गर्छ ।

क)  व्यवस्थापिकाले कार्यपालिकालाई :

– प्रतिनिधि सभाले प्रधानमन्त्री चयन गर्ने,

– प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव पारित गरी पदबाट हटाउन सक्ने,

– राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लगाई पदमुक्त गर्न सक्ने,

– प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा सङ्घीय संसद्प्रति उत्तरदायी हुने,

– सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटको संसदीय अनुमोदनपश्चात् मात्र कार्यान्वयन हुने,

– सरकारले गरेका महìवपूर्ण सन्धि सम्झौताको संसद्ले अनुमोदन गर्ने ।

ख) व्यवस्थापिकाले न्यायपालिकालाई ः

– संवैधानिक परिषद्को संरचनामा सङ्घीय संसद्का पदाधिकारीको बहुमत प्रतिनिधित्व हुने र यसले प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने,

– प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायधीसको संसदीय सुनुवाइ हुने,

– प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायधीसलाई महाभियोग लगाई पदमुक्त गर्न सक्ने,

– सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन सङ्घीय संसद्मा पेस भई छलफल हुने,

– संविधानमा उल्लेख गरेबाहेकका सर्वोच्च अदालतको अन्य अधिकार र कार्यविधि सङ्घीय कानुनद्वारा व्यवस्थित हुने,

– संसद्मा बहसका क्रममा उठेका विषयमा सदस्यउपर कुनै पनि अदालतमा कारबाही नचल्ने,

– संसद्को कामकारबाहीका सम्बन्धमा अदालतमा प्रश्न उठ्न नसक्ने ।

– अन्त्यमा नेपालको संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबिच शक्ति पृथकीकरण, नियन्त्रण एवं सन्तुलनको व्यवस्था गरेको छ । यी अङ्गहरूको सहअस्तित्व र सन्तुलनले मुलुकमा विधिको शासन, नागरिक अधिकारको संरक्षण र राष्ट्रिय हितको रक्षामा योगदान गर्छ । संवैधानिक अङ्गबिच शक्तिको प्रतिस्पर्धा र लोक रिज्याइलाई महìव दिने प्रवृत्तिले राज्यलाई कमजोर बनाउँदै लैजान्छ । यी अङ्गहरू संवैधानिक तथा नैतिक मूल्य मान्यतामा आधारित भई राष्ट्रको हितलाई सर्वोपरी मानी कार्यसम्पादन गर्नुमा नै राष्ट्रको भलाई अडेको हुन्छ । यिनीहरूबिच अङ्गहरू शक्ति र लोकप्रियताका लागि प्रतिस्पर्धा नभई मुलुकको विकास र समृद्धिका लागि 

सहकार्य हुनु नै मुलुकको उज्ज्वल भविष्यको हितकर देखिन्छ ।

 

२.  नेपालको संविधानबमोजिम प्रदेश सभाको गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।

 प्रदेश सरकारको व्यवस्थापिकीय अङ्ग नै प्रदेश सभा हो । यो एक सदनात्मक सभा हो । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने भन्ने व्यवस्था गरेपश्चात् प्रत्येक प्रदेशमा प्रदेश सभाहरू गठन भई व्रिmयाशील रहँदै आएका छन् । संविधानको धारा १७६ मा प्रदेश सभा गठन सम्बन्धमा निम्न व्यवस्था रहेको छ ।

प्रदेश सभा गठन प्रक्रिया :

– सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सदस्य सङ्ख्याको दोब्बर सङ्ख्यामा सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भई आउने र यो सङ्ख्या प्रदेश सभाको कुल सदस्य सङ्ख्याको साठी प्रतिशत हुने तथा बाँकी चालिस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य निर्वाचित भई आउने,

– पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणालीबाट निर्वाचित भएर आउने सदस्यबाट प्रदेश सभा गठन हुने,

– बालिग मताधिकार र गोप्य मतदानको आधारमा प्रदेश सदस्यहरू निर्वाचित हुने,

– प्रदेश सभामा प्रत्येक राजनीतिक दलबाट अनिवार्य रूपमा कम्तीमा एक तिहाई महिला सदस्य 

निर्वाचित हुनुपर्ने,

– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भई आउन सक्ने तर समानुपातिक प्रणालीबाट निर्वाचित हुने चालिस प्रतिशत सदस्य कुनै न कुनै दलको उम्मेदवारको रूपमा निर्वाचित भई आउनुपर्ने अवस्था रहेको छ । 

– यसरी प्रदेश सभाको गठनमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन हुने गर्छ । सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित सदस्य सङ्ख्यालाई नै प्रदेश सभामा रहने कुल सदस्य सङ्ख्या निर्धारण गर्ने मुख्य आधारको रूपमा लिने गरिएको छ ।

 

३.  वायु प्रदूषण भन्नाले के बुझिन्छ ? नेपालमा वायु प्रदूषणका कारण र वायु प्रदूषण न्यूनीकरण गर्न भएका प्रयास उल्लेख गर्नुहोस् । साथै नेपालमा वायु प्रदूषण न्यूनीकरण गर्न जिम्मेवार सरोकारवाला र तिनीहरूको भूमिकाबारे चर्चा गर्नुहोस् ।

 हावामा हानिकारक पदार्थहरूको मिसावट भई हावाको गुणस्तरमा ह्रास आउनुलाई वायु प्रदूषण भनिन्छ । सामान्यतया हावामा नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड, मिथेन, पानीको बाफलगायतका पदार्थ निश्चित प्रतिशतमा मिश्रित भई रहेको हुन्छ । हावामा अन्य हानिकारक पदार्थ मिसिई हावाको प्राकृतिक बनोटमा फेरबदल आउनुलाई वायु प्रदूषणको रूपमा बुझिन्छ । वायु प्रदूषणले मानव र जीवजन्तुको स्वास्थ्यमा नकारात्मक असर पार्छ । वायु प्रदूषणसँगै ओजोन तह विनाश, अम्लीय वर्षा, पृथ्वीको तापमानमा वृद्धि तथा जैविक विविधतामा ह्रास आउने जस्ता पर्यावरणीय प्रभावसमेत देखा पर्छन् । 

नेपालमा वायु प्रदूषणका कारण :

क)  यातायात क्षेत्र :

– जैविक इन्धनबाट चल्ने सवारीसाधनबाट निस्कने धुँवा र धुलो,

– सडकमा जमेको धुलो,

ख)  औद्योगिक क्षेत्र

– मापदण्ड विपरीत सञ्चालित इँटा भट्टा,

– ब्वाइलर जडित उद्योगहरू,

– डिजेल जेनेरेटर सेटको प्रयोग,

– निर्माण उद्योगहरू गतिविधिबाट सिर्जना हुने धुलो धुँवा,

ग)  कृषि क्षेत्र :

– कृषिजन्य फोहोर जलाउने कार्य

घ)  व्यावसायिक क्षेत्र :

– घरमा इन्धनको रूपमा प्रयोग हुने दाउरा, पराल, गुइँठाहरू

ङ)  वन क्षेत्र :

– प्राकृतिक तथा कृत्रिम डढेलोहरू,

– वन विनाश

च) खुला रूपमा फोहोर जलाउने कार्य,

छ)  सुक्खा पहिरो र विस्फोट

ज)  सीमापार क्षेत्रबाट हुने आयातित वायु प्रदूषण ।

वायु प्रदूषण न्यूनीकरणका प्रयासहरू :

क)  संवैधानिक व्यवस्था :

– हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरी कार्यन्वयनका लागि सरकारलाई जिम्मेवार बनाएको,

– वातावरण व्यवस्थापन तथा संरक्षणसम्बन्धी कार्य तिनै तहका अधिकारका सूचीमा समावेश गरिएको, 

ख)  नीतिगत तथा कानुनी प्रयास :

– राष्ट्रिय वातावरण नीति, २०७६

– राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६

– वातावरण संरक्षण ऐन, २०७६ 

– औद्योगिक व्यवसाय ऐन, २०७६

– वन ऐन, २०७६

– स्थानीय सरकार सञ्चालन ऐन, २०७४

– वातावरणमैत्री स्थानीय शासन प्रारूप, २०७८

– वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९

– काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६

ग)  अन्य प्रयास ः

– प्रदेश सरकारको कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश तहको वायु गुणस्तर सूचकाङ्कलाई समावेश गरिएको, 

– प्रदेश सरकारले स्थानीय तहहरूबिच सवारीसाधन कर बाँडफाँट गर्ने आधारको रूपमा वनले ढाकेको क्षेत्रफललाई समेत लिइएको,

– सङ्घ सरकारबाट वायु प्रदूषण मापन केन्द्रको स्थापना र सञ्चालन,

– वातावरण विभाग अन्तर्गत वायु गुणस्तर अनुगमन प्रणाली सञ्चालन,

सरोकारवालाको भूमिका :

क)  वातावरण विभाग, मन्त्रालयलगायतका केन्द्रीय निकाय :

– वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणसम्बन्धी नीति, मापदण्ड र कार्ययोजना तर्जुमा गर्ने,

– वायु गुणस्तरको सम्बन्धमा तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी नतिजा सार्वजनिक गर्ने,

– वायु प्रदूषण मापन केन्द्रको व्यवस्थित सञ्चालन गरी विश्वसनीय र अद्यावधिक तथ्याङ्क उत्पादन गर्ने,

– आमनागरिकलाई वायु गुणस्तरको सम्बन्धमा निरन्तर रूपमा सूचना तथा जानकारीहरू प्रदान गर्ने,

ख)  प्रदेश तथा स्थानीय सरकार :

– वायु प्रदूषण व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाई कार्यान्वयन गर्ने,

– धुलो उड्ने स्थलमा पानी तथा ब्रुमर मेसिनको व्यवस्था गर्ने, फोहोरमैला व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने,

– सामुदायिक सङ्घ, संस्था, समूहहरूलाई वायु प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना फैलाउने कार्यमा परिचालन गर्ने,

ग)  उद्योग व्यवसायी तथा नियमनकारी निकायहरू :

– उद्योग सञ्चालनसम्बन्धी मापदण्डहरूको परिपालना गर्ने गराउने,

घ)  निर्माण व्यवसायी तथा आयोजना कार्यालयहरू :

– वातावरणमैत्री ढङ्गले निर्माण कार्य सञ्चालन गर्ने,

– सम्झौताका सर्त कार्यान्वयन गर्ने गराउने,

– औजार उपकरणबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गर्न उपयुक्त प्रविधिको प्रयोग गर्ने,

ङ)  यातायात व्यवसायीहरू :

– आफ्नो सवारीसाधनको नियमित मर्मतसम्भार गर्ने,

– सवारी प्रदूषणको चेकजाँच गर्ने,

– विद्युतीय सवारीसाधन सञ्चालनमा जोड दिने,

– धुलाम्मे सडकमा संयमतापूर्वक सवारीसाधन चलाउने,

च)  वन उपभोक्ता समूह र वन कार्यालयहरू : 

– वन डढेलो नियन्त्रणमा प्रवर्धनात्मक तथा दण्डात्मक उपायहरू अवलम्बन गर्ने,

– दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने,

छ)  सर्वसाधारण नागरिक तथा कृषकहरू :

– नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिने,

– छोटो दुरीका लागि साइकल वा पैदल यात्रा गर्ने गरी व्यवहार परिवर्तन गर्ने,

– वन डढेलो रोकथाम र न्यूनीकरणमा सहयोग गर्ने,

– खुला रूपमा फोहोर र कृषिजन्य अवशेष जलाउने कार्य बन्द गर्ने,

ज)  सञ्चारकर्मीहरू :

– सर्वसाधारण र सरोकारवालालाई सुसूचित गर्ने,

– मापदण्ड विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन खोज पत्रकारिता गर्ने,

– नियमनकारी निकायसँग सहकार्य गरी नियमन कार्यलाई प्रभावकारी बनाउने,

– यसरी नेपालले संविधान, ऐन, नियम, विशिष्टिकृत नीति तथा कार्ययोजनामार्फत वातावरण संरक्षण र वायु प्रदूषण नियन्त्रणको विषयलाई जोड दिएको छ । वायु प्रदूषण न्यूनीकरणमा बहुसरोकारवालाको भूमिका रहने हुँदा सरकारले सबै निकायसँग समन्वय गरी वायु प्रदूषण न्यूनीकरणमा जिम्मेवार बन्नु पर्छ । 

– वायु प्रदूषणसँग सम्बन्धित राष्ट्रिय मापदण्डलाई पुनरवलोकन गरी सोको कडाइका साथ कार्यान्वयन गरेर जनस्वास्थ्यको सुरक्षा र भोलिको पुस्ताको भविष्यलाई सुरक्षित बनाउन सकिन्छ ।

 

४.  सङ्घीय शासनप्रणालीमा तहगत सरकारबिच जिम्मेवारी बाँडफाँट किन गरिन्छ ? चर्चा गर्नुहोस् । 

 बहुतहगत सरकार रहने शासकीय संरचनामा सार्वजनिक कार्यलाई तहगत सरकारहरूको जिम्मामा तोक्ने कार्यलाई जिम्मेवारी बाँडफाँट भनिन्छ । सङ्घीयताको मर्म नै संविधानमार्फत तहगत सरकारले सम्पादन गर्ने कार्यहरू बाँडफाँट गर्नु हो । यसलाई राज्यशक्तिको बाँडफाँट पनि भन्ने गरिन्छ । कार्य जिम्मेवारी बाँडफाँटको व्रmममा कतिपय कार्य साझा अधिकारको सूचिमा राखिन्छ भने कतिपय कार्य एकल अधिकारको सूचीमा समावेश गरिन्छ ।

जिम्मेवारी बाँडफाँटको आवश्यकता :

– तहगत सरकारको कार्य जिम्मेवारी स्पष्ट किटान गर्न,

– सरकारलाई जवाफदेही बनाउन,

– सेवा प्रवाहको सुनिश्चितता गर्न,

– सार्वजनिक सेवामा नागरिक विश्वास अभिवृद्धि गर्न,

– अन्तरसरकारी सम्बन्धमा हुने अस्थिरता, अन्योल र अस्पष्टता हटाउन,

– क्षेत्राधिकारभित्रका कार्य सम्पादन गर्न आवश्यक पर्ने कानुन, सङ्गठन, जनशक्ति, वित्तीय स्रोतको व्यवस्थापन गर्ने आधार तय गर्न,

– साझा अधिकारको सूचीमार्फत तहगत समन्वय र अन्तरसम्बन्ध कायम गर्न,

– अन्त्यमा तहगत कार्य जिम्मेवारी बाँडफाँट गर्दा दक्षता, सन्निकटता, जवाफदेहिता, क्षमता, समन्याय, आयतनको अर्थ लाभ, समन्वय र सहकार्य जस्ता सैद्धान्तिक मान्यतालाई जोड दिने गरिन्छ । 

– तहगत सरकारबिच जिम्मेवारीको स्पष्ट बाँडफाँटबाट नै सेवा प्रवाहमा कार्यदक्षता र जवाफदेहिता अभिवृद्धि गर्न सकिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA