नेपाल सरकारले राष्ट्रिय सांस्कृतिक नीति २०६७ जारी गरेको छ। भाषा, कला, संस्कृति, ललितकला तथा सङ्गीत–नाट्य क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन भई सञ्चालनमा रहेका छन् । त्यसैगरी, राष्ट्रिय अभिलेखालय, राष्ट्रिय सङ्ग्रहालय छाउनी, राष्ट्रिय मुद्रा सङ्ग्रहालय, राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुर, प्रदेश सङ्ग्रहालय पोखरा, प्रदेश सङ्ग्रहालय सुर्खेत, प्रदेश सङ्ग्रहालय धनकुटा, प्रदेश दरबार सङ्ग्रहालय पाल्पा, गोरखा सङ्ग्रहालय, कपिलवस्तु सङ्ग्रहालय तथा नुवाकोट दरबार सङ्ग्रहालय स्थापना भई पुरातात्त्विक वस्तुहरूको संरक्षणका कार्यहरू सञ्चालन भइरहेका छन् । ७२ जिल्लाका सम्पदाहरूको सूचीकरण भई सूचीअनुसारका संरक्षण कार्यक्रमहरू निरन्तर चलिरहेका छन्। साथै, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको संरक्षणका लागि छुट्टै कार्यक्रमहरू लागू भइरहेका छन्। पवित्र धार्मिक स्थल देवघाट क्षेत्रको २० वर्षे गुरुयोजना स्वीकृत भइसकेको छ । अन्य जातीय सङ्ग्रहालयहरूको स्थापना कार्यलाई पनि निरन्तरता दिइएको छ। स्थानीय निकाय र समुदायको सहभागितामा धरान, चितवन, कीर्तिपुर, पोखरा, दाङ र जुम्लामा जातीय सङ्ग्रहालय स्थापना कार्य सुरु भइसकेका छन् । काठमाडौँको गोल्फटारमा जनआन्दोलन तथा सहिद स्मृति सङ्ग्रहालयको पूर्वाधार विकास पनि सुरु गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय स्थापना भई यसको केही भाग सर्वसाधारणका लागि खुला गरिएको छ । मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृतिमा रू. १ करोडको अक्षयकोष स्थापना गरिएको छ। साथै, लुम्बिनी, पशुपति र जनकपुर क्षेत्रका गुरुयोजनाअनुसार पूर्वाधार विकासका गतिविधिहरू पनि निरन्तर सञ्चालन भइरहेका छन् ।
राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी दीर्घकालीन नीति