Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर (१४ फागुन २०८१, बुधबार)

  • Ajnabee Khadka
  • February 26, 2025
  • 568

वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर (१४ फागुन २०८१, बुधबार)

वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर (१४ फागुन २०८१, बुधबार)

१. वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धमा पेरिस घोषणामार्फत निर्धारण गरिएका सैद्धान्तिक मान्यता उल्लेख गर्दै वैदेशिक सहायतका परिचालनका सकारात्मक र नकारात्मक पक्षबारे चर्चा गर्नुहोस् ।

 बिसौँ शताब्दीको मध्यतिरबाट सुरु भएको वैदेशिक सहायता परिचालनको अभ्यासले शताब्दीको अन्त्यतिर आइपुग्दा उल्लेख्य आकार ग्रहण गरिसकेको थियो । बढ्दो वैदेशिक सहायता परिचालनसँगै यसको प्रभावकारी उपयोग सुनिश्चित गर्न दाताहरू क्रियाशील हुँदै थिए । सहस्राब्दी विकास लक्ष्यलाई सफल बनाउन दातृ निकायहरू वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्नुपर्ने निष्कर्षमा पुगी वैदेशिक सहायता परिचालनको प्रभावकारिता सम्बन्धमा छलफल गर्न उच्चस्तरीय सम्मेलनको थालनी भयो । यसै सन्दर्भमा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न वैदेशिक सहायता प्रभावकारितासम्बन्धी दोस्रो उच्चस्तरीय सम्मेलनले सहायता प्रभावकारिताका सम्बन्धमा पेरिस घोषणा २००५ मार्फत पाँच सिद्धान्तहरू निर्धारण गरेको छ ।

क)  स्वामित्व : प्रापक मुलुकले आफ्नो विकासका प्राथमिकताहरू निर्धारण गर्ने र विकास कार्यक्रमको नेतृत्व गर्ने अधिकार र जिम्मेवारी लिनु पर्छ । यी मुलुकले आफ्नै विकास रणनीति तयार गर्नुपर्ने र दातृ निकायले उनीहरूको प्राथमिकता र नीतिहरूको सम्मान गर्दै सहयोग प्रदान गर्नु पर्छ ।

ख)  आबद्धता : दातृ निकायले सहायता प्रदान गर्दा सहायता लिने मुलुकको राष्ट्रिय रणनीति, योजना, विधि र प्रक्रियाको समर्थन र पालना गर्नु पर्छ ।

ग)  सामञ्जस्यता : विभिन्न दातृ निकायले एकअर्कासँग समन्वय गरी कार्यक्रममा दोहोरोपना हटाउनु पर्छ । समान उद्देश्यका सहायता कार्यक्रमलाई दाताहरूबिच समन्वय गरेर कार्यान्वयन गर्नु पर्छ । यसका लागि दाताबिच सूचना तथा जानकारीहरू साझा गर्नु आवश्यक हुन्छ । दाताहरूका छरिएका कार्यक्रमले अनावश्यक प्रशासनिक बोझ सिर्जना गर्ने हुँदा दातृ संस्थाबिच सहकार्य आवश्यक पर्छ ।

४.  नतिजाका लागि व्यवस्थापन : सहायता कार्यक्रमलाई नतिजा केन्द्रित बनाउनु पर्छ । पारदर्शी र मापनयोग्य लक्ष्यहरू निर्धारण गरी प्रतिफल मापन गर्नु पर्छ । सहायताले वास्तविक विकासमा योगदान गरे वा नगरेको मूल्याङ्कनका आधारमा परिमार्जन गर्नु पर्छ ।

५.  पारस्परिक उत्तरदायित्व : दातृ मुलुक र सहायता प्राप्त गर्ने मुलुकका क्रियाकलाप पारदर्शी र नतिजाप्रति परस्पर उत्तरदायी हुनु पर्छ । दुवै पक्षले तत् तत् मुलुकका नागरिक समाज, संसद् र अन्य सरोकारवालालाई सहायता कार्यान्वयनको बारेमा जानकारी दिएमा मात्र वैदेशिक सहायता प्रभावकारी बन्न सक्दछ ।

वैदेशिक सहायता परिचालनका सकारात्मक र नकारात्मक पक्षहरू :

–  वैदेशिक सहायताका सम्बन्धमा सकारात्मक र नकारात्मक कोणबाट चर्चाहरू हुने गरेका छन् । वैदेशिक सहायता ग्रहण गर्ने सन्दर्भमा समेत विद्वान्हरूले यसका पक्ष र विपक्षमा तर्कहरू गरेका छन् । वैदेशिक सहायता परिचालनका सन्दर्भमा देहायका सकारात्मक र नकारात्मक पक्षहरू चर्चा हुने गरेको पाइन्छ ।

क)  सकारात्मक पक्षहरू :

– विकासोन्मुख मुलुकको विकासको लागि विकास वित्तको न्यूनता पूर्ति गर्ने,

– नवीन ज्ञान र प्रविधि हस्तान्तरण हुने,

– संस्थागत क्षमता विकासमा सहयोग पुग्ने,

– विदेशी मुद्रा सञ्चितिमार्फत बाह्य क्षेत्र सुधारमा योगदान पुग्ने, 

– जटिल पूर्वाधार निर्माणमा प्राविधिक सहयोग प्राप्त भई आधुनिक पूर्वाधार निर्माण सम्भव हुने,

– गरिबी र वञ्चितीकरण अन्त्यका लागि सहयोग प्राप्त हुने,

– सामुदायिक विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुने,

– शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइमा लगानी वृद्धि गरी मानव पुँजी निर्माणमा योगदान पुग्ने,

– लोकतान्त्रिक मूल्य मान्यता र मानव अधिकारको प्रवर्धनमा सहयोग पुग्ने,

– वातावरणीय ह्रास तथा जलवायु परिवर्तनका असरसँग जुध्न समुदायको क्षमता विकासमा सहयोग पुग्ने,

– विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सरकारको क्षमता अभिवृद्धि हुने,

ख)  नकारात्मक पक्षहरू :

– परनिर्भरता बढाउने,

– गार्हस्थ बचत घट्ने,

– बजारमा मुद्रास्फीति बढाउने,

– समाजमा द्वन्द्व बढाउने,

– भ्रष्टाचार र स्रोत चुहावट बढाउने,

– मुलुक ऋण पासोमा पर्न सक्ने जोखिम रहने,

– आन्तरिक स्रोतको खोजी र परिचालनमा ध्यान कम जाने,

– शासकीय जवाफदेहिता कमजोर रहने,

– परामर्शदाता र क्षमता विकासका नाममा सहायता रकमदाता मुलुकमा नै फर्किने,

– कठोर सर्त मान्नुपर्दा विकास प्रक्रिया जटिल बन्ने,

– अत्यधिक सर्तहरूका कारण सार्वभौमसत्ता कमजोर हुन सक्ने,

– आधुनिकताका नाममा अनुपयुक्त र महँगो प्रविधिका कारण विकास प्रक्रिया महँगो हुने ।

–  अन्त्यमा पेरिस घोषणाले वैदेशिक सहायतालाई प्रभावकारी बनाउन स्थानीय स्वामित्व र आबद्धता, सामञ्जस्यता, नतिजा केन्द्रित व्यवस्थापन र सहायताप्रति दुवै मुलुक जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । सहायता परिचालनबाट प्रापक मुलुकको आर्थिक सामाजिक अवस्थामा सुधार गरी नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्न सकिएमा मात्र यसको प्रभावकारिता पुष्टि भएको मान्न सकिन्छ ।

 

२.  स्थानीय तहको वार्षिक विकास कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियाबारे जानकारी दिँदै नेपालमा स्थानीय तहको वार्षिक बजेट तर्जुमामा देखिएका समस्याहरूको सूची तयार गर्नुहोस् । 

 नेपालको संविधानले स्थानीय तहलाई नीति, योजना तथा वार्षिक बजेट तर्जुमा गर्ने र कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको आर्थिक कार्यप्रणालीसम्बन्धी व्यवस्थाहरू उल्लेख गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनसमेतका आधारमा स्थानीय तहको बजेट तर्जुमा प्रक्रियाका चरण यस प्रकार छन् ।

स्थानीय तहको बजेट तर्जुमाका प्रक्रियागत चरणहरू : 

– बजेटको पूर्वतयारी,

– स्रोत अनुमान तथा कुल बजेट सीमा निर्धारण,

– टोल तथा बस्तीस्तरबाट आयोजना छनोट,

– वडा तहमा आयोजना छनोट तथा प्राथमिकीकरण,

– बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तर्जुमा,

– कार्यपालिका बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति,

– सभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमामा देखिएका समस्याहरू :

– तीन तहका सरकारका कार्यक्षेत्रको स्पष्ट सीमाङ्कन हुन नसक्दा कार्यक्रम र आयोजनामा दोहोरोपना देखिनु,

– राष्ट्रिय र प्रादेशिक नीति, बजेट, प्राथमिकता अध्ययन गरी गन्तव्य निर्धारण गर्ने परिपाटीको अभाव,

– आवधिक योजना, मध्यमकालीन खर्च संरचना, आर्थिक सर्वेक्षण, आयोजना बैङ्कलाई संस्थागत गर्न नसक्नु,

– सहभागितामूलक बजेट तर्जुमा प्रक्रिया पूर्ण रूपमा अवलम्बन हुन नसक्नु,

– स्रोतसाधनको उपलब्धता अनुसार स्थानीय आवश्यकता प्राथमिकीकरण गरी सम्बोधन गर्न नसक्नु,

– लागत अनुमानबिना नै आयोजनामा बजेट विनियोजन हुनु,

– विषयगत समिति, विषयगत शाखाहरूको क्षमता विकास हुन नसक्नु,

– विषयगत समितिहरूको कार्य जिम्मेवारी स्पष्ट पार्न नसक्नु,

– आयोजना छनोटमा स्थानीय ठालुहरूको प्रभाव र नियन्त्रण रहनु,

– ससाना योजना र कार्यक्रममा स्रोत छर्ने परिपाटीको अन्त्य हुन नसक्नु,

– स्रोत विनियोजनमा स्थानीय भौगोलिक सन्तुलन कायम गर्न नसक्नु ।

– अन्त्यमा स्थानीय तहको वार्षिक योजना तथा बजेटमा विनियोजन दक्षता र कार्यान्वयन कुशलताबाट नै स्थानीय शासनका लक्ष्यहरू हासिल गर्न सकिन्छ । स्थानीय आवश्यकता र प्राथमिकता निर्धारण गरी वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र सोको समयबद्ध रूपमा कार्यान्वयन हुन सकेमा मात्र सार्वजनिक खर्चको माध्यमबाट स्थानीय शासनको लाभ लक्षित वर्ग र क्षेत्रसम्म पु¥याउन सकिन्छ ।

 

३.  “भ्रष्टाचारले मुलुकको आर्थिक सामाजिक रूपान्तरण प्रक्रियालाई अवरुद्ध पारी समाज विकास क्रमलाई पछाडि धकेल्छ” यस भनाइप्रति आफ्नो दृष्टिकोणसहित स्पष्ट पार्नुहोस् ।

 सार्वजनिक स्रोतसाधन र शक्ति व्यक्तिगत लाभका लागि उपयोग गर्नु भ्रष्टाचार हो । सार्वजनिक स्रोतसाधन र अख्तियारीको विधि र विवेकसम्मत परिचालनबाट मात्र मुलुकको आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ । भ्रष्टाचार मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको बाधक रहेको कुरा निम्न तथ्यबाट प्रस्ट पार्न सकिन्छ ।

– सार्वजनिक स्रोतसाधन सार्वजनिक पद धारण गर्न व्यक्तिले व्यक्तिगत फाइदाका लागि उपयोग गर्दा समाजका लागि दीर्घकालीन लाभ सिर्जना गर्ने पूर्वाधार परियोजनामा लगानी अभाव हुन जान्छ ।

– भ्रष्टाचार बढ्दा सरकारप्रतिको विश्वास कमजोर भई स्वदेशी निजी तथा वैदेशिक लगानी अवरुद्ध हुन सक्छ । फलस्वरूप मुलुकको आर्थिक विकासको गति सुस्त हुन्छ ।

– सरकारप्रति दातृनिकायको विश्वास कमजोर हुँदा विकास सहायता अन्यत्र जाने सम्भावना रहन्छ । यसले मुलुकको आर्थिक, सामाजिक रूपान्तरमा बाधा सिर्जना गर्छ । 

– सरकारको नियामकीय क्षमता कमजोर हुँदै जान्छ । फलस्वरूप मुलुकका उत्पादनहरू कम प्रतिस्पर्धी भई निर्यात क्षमता घट्छ । व्यापार घाटा बढ्दै जाने सम्भावना रहन्छ ।

– सार्वजनिक वस्तु र सेवाको गुणस्तर र पहुँच कमजोर हुन्छ । यसले मुलुकको मानव पुँजी निर्माण प्रभावित हुन्छ । कमजोर मानव संसाधनले मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको गति दिन सक्दैन । 

– करदातामा सरकारप्रतिको विश्वास कमजोर भई कर सहभागिता दर न्यून हुँदै जाने र मुलुकले आन्तरिक स्रोत परिचालनबाट समृद्धि हासिल गर्ने अवसर गुमाउने अवस्था आउँछ ।

– सामाजिक न्यायका क्षेत्रमा गरेको लगानी वास्तविक लाभग्राही सम्म पुग्न सक्दैन । यसबाट मुलुकमा आर्थिक, सामाजिक असमानता बढ्दै जान्छ ।

– भ्रष्टाचारका कारण उद्योग र व्यापारको लागत बढी पर्न जान्छ । फलस्वरूप उत्पादित वस्तु तथा सेवा महँगो हुँदै जान्छ । आयको अधिक अंश उपभोगमा जाँदा बचत कमजोर भई थप लगानीका लागि पुँजीको अभाव हुन्छ ।

– आर्थिक प्रलोभनमा परी गलत परियोजनाको छनोट हुने सम्भावना रहन्छ । यसले लागत अनुसारको प्रतिफल नदिई मुलुकलाई ऋणको बोझ मात्र बढाउन सहयोग गर्छ । भविष्यको राजस्व समेत ऋणको साँवा र ब्याज भुक्तानीमा उपयोग हुन गई नागरिकको जीवनस्तर दीर्घकालसम्म यथास्थितिमा रहने सम्भावना प्रबल हुन्छ । 

– सार्वजनिक निर्माणको गुणस्तर कमजोर हुँदा मर्मतसम्भारमा बर्सेनि ठुलो रकम खर्च हुन्छ । 

मुलुकको विकासका लागि आवश्यक गुणस्तरीय भौतिक पूर्वाधारको अभाव हुँदा मुलुकको समृद्धि पछाडि धकेलिन्छ । 

– अन्त्यमा भ्रष्टाचार अग्रगमन, आर्थिक र सामाजिक रूपान्तरणको बाधक तìव हो । आर्थिक स्थायित्व र समृद्धि, सामाजिक न्याय तथा प्रभावकारी शासन प्रणाली स्थापित गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक निगरानी र कडा कानुनी व्यवस्थाले मात्रै भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ । यसलाई निर्मूल पार्न सरकार, निजी क्षेत्र, नागरिक समाज, गैससलगायत सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक पर्छ ।

 

४.  प्रतिवेदन भन्नाले के बुझिन्छ ? प्रतिवेदनको महत्वमाथि चर्चा गर्दै सार्वजनिक निकायमा प्रयोगमा आउने विभिन्न प्रकारका प्रतिवेदनबारे चर्चा गर्नुहोस् । 

 कुनै विषय, कार्य, घटना वा मुद्दाको वास्तविकता उजागर गर्न सोसम्बन्धी यथार्थ विवरणहरू समावेश गरी तयार गरिने लिखित दस्ताबेजलाई प्रतिवेदन भनिन्छ । सरकारी वा निजी सङ्गठनले विभिन्न प्रकारका प्रतिवेदनहरू तयार गर्ने गर्छन् । प्रतिवेदनको निश्चित उद्देश्य र उपयोगिता हुन्छ । कार्यालय वा संस्थाको कार्यप्रकृति अनुसार प्रतिवेदनको प्रकार र प्रयोगकर्ता फरक फरक पनि हुन सक्छन् । कानुन वा कार्यविधिबाट निर्धारित ढाँचा उपलब्ध भएमा सोही ढाँचामा प्रतिवेदन तयार गर्ने अभ्यास रहेको छ ।

प्रतिवेदनको महत्व :

निम्न आधारमा प्रतिवेदनको महत्व बुझ्न सकिन्छ ।

– विषयवस्तुलाई गहन रूपमा अध्ययन गरी सत्यतथ्य प्रस्तुत गर्न,

– कानुनी दायित्व र सङ्गठनात्मक आवश्यकता पूरा गर्न,

– सङ्गठनको प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा सुधार गर्न,

– सङ्गठनको उपलब्धिलाई विगतको आफ्नै कार्यसम्पादनस्तरसँग तथा अन्य निकायको कार्यसम्पादनस्तरसँग तुलना गर्न, 

– सङ्गठनका गतिविधि र उपलब्धिलाई सरोकारवालासमक्ष सञ्चार गर्न,

– कार्यालयका विविध क्रियाकलापलाई लिखित दस्ताबेजको रूपमा प्रस्तुत गरी संस्थागत स्मरणलाई सुदृढ गर्न,

– कुनै घटना वा मुद्दाको प्रतिवेदनलाई लिखित प्रमाणको रूपमा ग्रहण गरी निर्णय गर्न,

– नीति, योजना र निर्णय निर्माणलाई तथ्यमा आधारित बनाउन,

– कार्यक्रम तथा आयोजनाको स्थलगत निरीक्षण गरी वास्तविक अवस्था उजागर गर्न,

– प्रतिवेदनको माध्यमबाट ज्ञान सिर्जना, विस्तार र प्रसारण गर्न,

सार्वजनिक निकायमा बारम्बार प्रयोगमा आउने केही प्रतिवेदनहरू : 

क)  आवधिक प्रगति प्रतिवेदनहरूः मासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक, वार्षिक प्रतिवेदनहरू आवधिक प्रतिवेदन हुन् । प्रायः सबै सङ्घीय मन्त्रालय, संवैधानिक निकाय वा अङ्ग, विभाग, सचिवालयले आफूले सम्पादन गरेका क्रियाकलापको फेहरिस्तसहितको वार्षिक प्रतिवेदन तयार गरी तोकिएको निकायमा पेस गर्छन् । आर्थिक प्रशासन शाखाले मासिक, त्रैमासिक वा वार्षिक वित्तीय प्रतिवेदन तयार गर्छन् । 

ख)  अध्ययन प्रतिवेदन : नीति निर्माण तहको कार्य गर्ने निकायले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन गरी वा गराई प्रतिवेदन प्राप्त गर्छन् ।

ग)  जाँचबुझ वा छानबिन प्रतिवेदन : कुनै सार्वजनिक सरोकारको विषय, मुद्दा वा घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने अवस्थामा सरकारले जाँचबुझ वा छानबिन समिति, आयोग, कार्यदल गठन गरी प्रतिवेदन प्राप्त गरी आवश्यक निर्णय लिने गर्छ ।

घ)  अनुसन्धान प्रतिवेदन : उजुरीको अनुसन्धान गरी मुद्दा दायर गर्ने जिम्मेवारीमा रहेका निकायले विस्तृत रूपमा अनुसन्धान गरी प्रतिवेदन तयार गर्छन् । सोही प्रतिवेदनलाई आधार मानी अन्य कानुनी प्रक्रिया अगाडि बढ्छ । 

ङ)  भ्रमण प्रतिवेदन : कार्यालयको कामको सिलसिलामा भ्रमण आदेश स्वीकृत भई भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले भ्रमण अवधिमा भएका गतिविधि र उपलब्धिसहितको प्रतिवेदन कार्यालयमा पेस गरी कार्य फस्र्योट गर्छन् ।

च)  निरीक्षण एवं अनुगमन प्रतिवेदन : अनुगमन वा निरीक्षण गर्ने जिम्मेवारीमा रहेको पदाधिकारी वा कर्मचारीले मातहतको कार्यालय, कार्यक्रम वा परियोजनाको निरीक्षण एवं अनुगमन गरी कार्यालयमा प्रतिवेदन पेस गर्छन् । सोही प्रतिवेदनलाई आधार मानी आवश्यक सुधारका लागि निर्देशन वा परिपत्र गरिन्छ । 

छ)  मूल्याङ्कन प्रतिवेदन : सरकारका विभिन्न निकायबाट सञ्चालित आयोजना वा कार्यक्रमको प्रभाव मूल्याङ्कन गरी सोको निरन्तरता, विस्तार वा अन्त्य गर्ने भन्ने निर्णयमा पुग्नका लागि मूल्याङ्कन प्रतिवेदन तयार गरिन्छ ।

ज)  कार्यसम्पन्न प्रतिवेदन : आयोजना वा कार्यक्रमको निर्धारित क्रियाकलाप सम्पन्न भएपश्चात् सम्बन्धित कार्यालयबाट आयोजना वा कार्यक्रम फरफारक गर्नका लागि कार्यसम्पन्न प्रतिवेदन तयार गरिन्छ । 

झ) लेखापरीक्षण प्रतिवेदन : सरकारी कार्यालयलाई सार्वजनिक स्रोत परिचालनमा उत्तरदायी बनाउन आन्तरिक र अन्तिम लेखापरीक्षण गरी प्रतिवेदन तयार गरिन्छ । प्रतिवेदनमा उल्लेख भएका बेरुजुलाई सरकारी कार्यालयले तत्काल फस्र्योट प्रक्रियामा लैजानु पर्छ ।

– अन्त्यमा, प्रतिवेदनलाई सञ्चारको एक सशक्त माध्यमको रूपमा लिन सकिन्छ । सङ्गठन र यसका सरोकारवालाबिच सङ्गठनको कार्य प्रगति सञ्चार गर्न प्रगति प्रतिवेदनको प्रयोग गर्न सकिन्छ । भौतिक वा डिजिटल दुवै स्वरूपमा प्रतिवेदन तयार गर्न सकिने हुँदा कुनै कालखण्डमा तयार भएको प्रतिवेदन सुरक्षित गरी पछिसम्म सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA